![आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ढोरपाटन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/dhorpatan_9_5ZE4f0UKxV.jpg)
शिकार आरक्षको रूपमा चिनिएको ढोरपाटन अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। विगतमा बाह्य शिकारीहरूको मात्र पहुँच रहेको यस क्षेत्रमा पछिल्लो समय प्रचारप्रसार बढ्नाले आन्तरिक पर्यटन फस्टाउन थालेको हो ।

स्थानीय हिमालय वाइल्डलाइफ आउटफिटरका संचालक दिपक थापाका अनुसार ढोरपाटन शिकार आरक्षमात्र नभएर धार्मिक एवं प्राकृतिक पर्यटनको पनि उत्कृष्ट गन्तव्य हो । यहाँ रहेको उत्तरगंगा बराहक्षेत्र मन्दिरले धार्मिक पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।

गण्डकी प्रदेशको बाग्लुङ, म्याग्दी र लुम्बिनी प्रदेशको पूर्वी रुकुममा फैलिएको यस क्षेत्रमा वर्षायाममा विभिन्न रंगीचंगी फूल फुल्ने, हिउँदमा हिउँ खेल्न पाइने र वसन्त ऋतुमा लालीगुराँस र चिमल फुल्ने गर्दछ ।

पर्यटन पूर्वाधारको विकास हुँदै गएको यस क्षेत्रमा साना होटल, सामुदायिक होटल र होमस्टेहरूको सुविधा उपलब्ध छ। एक पटकमा करिब ६०० जनासम्म पर्यटक बस्न सक्ने क्षमता भएका यी सुविधाहरूमा तिब्बती शरणार्थीहरूले सञ्चालन गरेका होटलहरूमा विशेष तिब्बती परिकार र भोटे चियाको स्वाद लिन सकिन्छ।




