
एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको क्रोएसियाको प्रहरीले जनाएको छ ।
तटीय शहर स्प्लिटमा खाना डेलिभरी गर्ने एक कामदारमाथि शारीरिक आक्रमण गरेको आशंकामा पक्राउ परेका चारै जनामाथि ‘घृणाजन्य अपराध’को आरोपमा अनुसन्धान भइरहेको प्रहरीले शनिबार जनाएको छ ।
शुक्रबार राति भएको आक्रमणमा ४१ वर्षीय एक विदेशी नागरिक र एक आक्रमणकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
उक्त आक्रमणलगत्तै स्प्लिटमा पनि विदेशी खाना डेलिभरी गर्ने कामदारलाई लक्षित गरी अन्य तीन वटा घटना भएका थिए, जसमा एक नेपाली गम्भीर घाइते भएका थिए । अर्का एक जना भारतीय नागरिक थिए भने अन्य दुई जनाको राष्ट्रियता खुलाइएको छैन ।
प्रहरीले तीनै आक्रमणका दोषीको खोजी कार्य जारी राखेको जनाएको छ ।
सन् २०२३ मा क्रोएसियाले ईयूबाहिरका करिब एक लाख २० हजार नागरिकलाई श्रम अनुमति प्रदान गरेको थियो।
यो वर्ष यो आँकडा अझ बढी हुने बताइएको छ । सरकारले नोभेम्बरसम्म लगभग एक लाख ५० हजार ईयूभन्दा बाहिरका नागरिकहरूका लागि वर्क परमिट जारी गरेको थियो।
राजधानी जाग्रेबका प्रहरीले यस वर्षको सुरुमा विदेशी कामदारहरू, विशेष गरी खाद्यान्न डेलिभरी गर्नेहरूमाथि आक्रमणको सङ्ख्या बढ्दै गएको बताएका थिए।
क्रोएसियाको कुल जनसङ्ख्याको ९० प्रतिशतभन्दा बढी क्रोएट्स समुदायले ओगटेको छ जसमध्ये करिब ८० प्रतिशत रोमन क्याथोलिक छन् ।
व्यापक आप्रवासन र घट्दो जनसङ्ख्याको सामना गरिरहेको ३८ लाख जनसङ्ख्या भएको युरोपियन युनियन (ईयू) सदस्य राष्ट्र क्रोएसियाले दीर्घकालीन श्रम अभावबाट पार पाउन संघर्ष गरिरहेको छ ।
परम्परागत रूपमा बाल्कन छिमेकीहरूबाट मौसमी कामदारहरूमा निर्भर क्रोएशियाले एड्रियाटिक तटमा निर्माण र यसको प्रमुख पर्यटन क्षेत्रमा विशेष गरी दशौं हजार रोजगारीका लागि नेपाल, भारत, फिलिपिन्स र अन्य ठाउँका कामदारहरूमा भरोसा गरिरहेको छ।