
गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।
खराब मौसमका कारण अवतरण गर्न नसकेपछि आँखुखोलाको शिर आसपासमा फसेकाहरूलाई उद्धार गर्न नसकी हेलिकप्टर फर्किएको हो ।
पटकपटक ल्याण्ड गर्ने प्रयास गरे पनि खराब मौसम र सञ्चार सम्पर्क गर्न नसकेपछि फर्किएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।
ट्रेकिङ टोलीमा रहेका रुवीभ्याली गाउँपालिकाका विपिन तामाङका अनुसार गणेश हिमाल बेसक्याम्पको केही तल (करिब डेढ घण्टाको दूरीमा) ट्रेकिङ गएका १६ जना फसेका छन् ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी परेका छन् । सँगै ट्रेकिङमा रहेका ११ जना भने रुवीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइपुगेका छन् ।
पर्या–पर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली छ दिनदेखि यात्रामा छन् । सोमबार राति त्यस स्थानमा पुगेका उनीहरू हाई अल्टिच्युटका कारण बिरामी परेका थिए ।
त्यस स्थान नजिक मानव बस्ती नभएको र सञ्चार सम्पर्क नभएपछि बुधबार बिहानदेखि छ घण्टा हिँडेर सञ्चार सम्पर्कमा आएको ट्रेकिङमा रहेका पत्रकार मिलन तिमिल्सिनाले बताए।
'फसेको ठाउँ बेसक्याम्प पुग्न करिब डेढ घण्टा जति समयको दूरीमा छ । त्यहाँ फोन लाग्दैन । सोमबार राति त्यहाँ पुगेको हो । अहिले पनि त्यही छ । हामी टेलिफोन लाग्ने ठाउँसम्म आएर सम्पर्कमा आएका हौँ', तिमल्सिनाले भने।
ट्रेकिङ टोलीमा २७ जना रहेको र दुई जना बिरामी परेपछि बिरामीसहित १६ जनालाई त्यहीँ छोडेर ११ जना अहिले १४ घण्टा हिँडेर तिप्लिङको हिन्दुङ नजिक आइपुगेको उनले जानकारी दिए ।