
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा आज बिहान जुम्ला सदरमुकाम खलङ्गा बजारमा भएको सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
कर्णालीको समग्र विकास र दिगो पूर्वाधार निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सबै राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधिबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।
कर्णाली प्रदेशका दशवटै जिल्लाको समृद्धिको परिकल्पना पूरा गर्न एकीकृत योजना र सहकार्यको आवश्यकतामा जोड दिँदै उनले भने, 'जुम्लाको विकासका निम्ति सबै तहका निकाय र राजनीतिक पक्षधरबीच समन्वय जरुरी छ । हरेक योजनामा सहभागी सबै पक्षले सामूहिक जिम्मेवारी लिनुपर्छ ।'
दिगो विकासका लागि समुदायको सक्रिय सहभागिता र सर्वपक्षीय छलफलले मात्र प्रभावकारी परिणाम दिने मुख्यमन्त्रीले बताए ।
कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शाहीले जुम्लाको समृद्धिका लागि राजनीतिक पूर्वाग्रहलाई पन्छाएर सहकार्यमा जुट्नुपर्नेमा जोड दिए ।
सङ्घीय सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले जुम्लाको स्वास्थ्य, शिक्षा, यातायात र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
बजेट विनियोजनमा समानुपातिकता कायम गर्न र योजनाहरूको कार्यान्वयनमा स्थानीय जनतालाई प्रत्यक्ष रूपमा समेट्ने गरी प्रदेश सरकारले काम गर्न जरुरी भएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।