२६ जेठ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

रविविरुद्ध कास्की प्रहरीको अनुसन्धान अन्तिम चरणमा, दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी

मंसिर २१, २०८१
काठमाडौं
रविविरुद्ध कास्की प्रहरीको अनुसन्धान अन्तिम चरणमा, दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
विशेष अदालतले वाइडबडी प्रकरणमा चार जना नेपालीसहित केही विदेशी नागरिकलाई समेत कैद र जरिवाना फैसला गरेको छ । 

बिहीबार अदालतले सुगतरत्न कंसाकार, शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई  दोषी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार सुगतरत्नमाथि दुई वर्ष नौ महिना कैद सजाय भएको छ । तर कंसाकारलाई जम्मा दुई वर्ष नौ महिना कैद सजाय भएपनि उमेर ७४ वर्ष पुगिसकेको हुनाले ज्येष्ठ नागरिकले पाउने सुविधा अनुसार उनले कैदमा ५० प्रतिशत छुट पाउने छन् । 

यसैगरी अधिकारी,  ढुङ्गाना र  लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । दोषी ठहर भएका अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव थिए। विभागीय मन्त्रालयको सचिव भएकैले अधिकारीमाथि थप तीन महिना कैदसमेत भएको छ ।
००००
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न  नेपाल वायुसेवा निगमलाई  निर्देशन दिएका छन् । 
नेपाल वायुसेवा निगमको  केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
००००
गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने एक व्यक्ति पक्राउ परेका छन् । 

गृहमन्त्री रमेश लेखकको पीए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
००००
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । 

भारतीय गुण्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको हो ।
००००
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखिको ट्रंकलाइन र डेडिकेटेडमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैंले खोज्नुपर्ने बताएका छन् । 

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औं केन्द्रीय सभाको बिहीबार बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अब ट्रंकलाइनको समस्या लम्बिन नहुने बताउँदै प्राधिकरणले समस्या समाधानका लागि चासो नदेखाए सरकारले समाधान खोज्ने बताए ।
००००
मानव तस्करीमा मुछिएका एमाले प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।

अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णय खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई फ्रेमवर्कमा गरिएको सम्झौता ऋण नभएको बताएका छन् । आफू चीन जानु अगाडि नै ऋण नलिने कुरा स्पष्ट गरेको उनले बताए । 

चार दिन लामो चीन भ्रमण सकेर स्वदेश फर्किने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा ओलीले नेपालले प्राप्त गरेको उपलब्धि ऋण नभएको बताएका हुन् । 

‘मैले आमसभादेखि भनेको थिएँ, हामी ऋण लिन जाँदै थिएनौं। हामीले बीआरआई अन्तर्गत पछि छुट्टै छलफल गर्छौं । अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन’, ओलीले भने, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । तर, ऋणको सारंगी किन बजिरहेको छ ?’
००००
फाइनान्स र होटलमा तीव्र गिरावट आउँदा बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार १५.९३ अंकले घटेर २७३४ दशमलव ९३ बिन्दुमा कायम भएको छ ।
००००
सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग फरक–फरक ४ जिल्लामा बयान लिइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले कास्की प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार अब एकपटक म्याद थप गरेर पर्सामा बयान दिन पठाएपछि सरकारी वकिल कार्यालयमार्फत मुद्दाको मिसिल बुझाउने तयारी छ ।
००००
नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको जानकारी प्रवक्ता अग्निप्रसाद सापकोटाले दिए । 

‘अब माओवादीको सबै तयारी भनेको २०८४ को चुनाव जित्नका लागि हो,’ बैठकपछि सापकोटाले भने, ‘अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासन अभियानलाई जनतासम्म लैजान्छौं । हामी बीचमा केही समय अल्मलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्