२६ जेठ २०८३, मंगलबार
प्रहरी हिरासतमा आशिका

प्रहरी हिरासतमा पुगेपछि आशिकाले मागिन् माफी– ‘भावनामा आएर चर्को स्वर बोलेँ’

माघ ३, २०८१
काठमाडौं
प्रहरी हिरासतमा पुगेपछि आशिकाले मागिन् माफी– ‘भावनामा आएर चर्को स्वर बोलेँ’

आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले गल्ती स्वीकार्दै माफी मागेकी छन् ।

अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेका बेला तामाङले आफ्नो गल्ती स्वीकारेकी हुन् ।

पशुपति क्षेत्र विकास कोषमा पुगेर आशिकाले सुरक्षार्थ खटिएका प्रहरी र कोषका कर्मचारीलाई अभद्र व्यवहार गरेकी थिइन् । कोषकै उजुरीका आधारमा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरी हिरासतमा पुगेपछि आशिकाले आफ्नो बोल्ने शैली र व्यवहारका कारण अरूलाई दुःख परेकोमा माफी मागेकी हुन् । आशिकालाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनलाई भेट्न कोही पनि पुगेका छैनन् । हिरासतमा अन्य थुनुवाले पाउने सुविधा उनले पाएकी छिन् । 

गौशाला वृत्तका प्रमुख डीएसपी सुकदेव खनालका अनुसार आशिकाले प्रहरीसमक्ष माफी मागेकी हुन् ।

‘मैले अलिकति भावना र उत्तेजनामा आएर चर्को स्वरमा बोलेकी हुँ,’ आशिकाको भनाइ उद्धृत गर्दै खनालले लोकान्तरसँग भने, ‘मेरो व्यवहारबाट कसैको मानमर्दन भएको भए माफी पाऊँ भन्ने उहाँको कुरा छ ।’ 

आशिकाले आफू सामाजिक अभियन्ताको रूपमा काम गरिरहेको र कोषमा ज्यालादारी तथा करारमा राखिएका कर्मचारी निकाल्ने भएपछि त्यसको विरोधमा आवाज उठाएको बताएकी छिन् । 

प्रहरी र कोषका कर्मचारीविरुद्ध आक्रामक शैलीमा उत्रिएकी आशिकालाई प्रहरीले पटक–पटक चेतावनी दिँदा पनि उल्टै जाइलागेकी थिइन् । कानून कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि आशिकाले आफूलाई कानून भन्दामाथि राखेर प्रस्तुत हुने गरेको बुझाइ प्रहरीको छ ।

केही क्यामेरा लिएर राजमार्गका होटलमा पुगी खानाको मूल्य र गुणस्तरको बारेमा आवाज उठाएर भाइरल भएकी आशिकाको गतिविधिलाई लिएर विभिन्न टीकाटिप्पणी हुन थालेको थियो ।

पछिल्लोपटक कोष भित्र पुगेर उनले गरेको हर्कतविरुद्ध कोषले कानूनी उपचार खोजेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्