२६ जेठ २०८३, मंगलबार

आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

फागुन १, २०८१
कास्की
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

सहारा क्लब पोखराको आयोजनामा गत माघ २२ देखि सुरु भएको प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलको दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा पुगेको हो ।

ब्ल्याक बुल्सले यही फागुन ३ गते विभागीय नेपाल पुलिस क्लबसँग उपाधिका लागि खेल्नेछ । पोखरामा पहिलो पटक फुटबल खेल्न आएको ब्ल्याक बुल्सले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रीस्टारलाई पराजित गरेको हो ।

खेलको २५औँ मिनेटमा ब्ल्याक बुल्सले कुभोनचेक ओलिमोभको गोलमा अग्रता बनाएको थियो । खेलको ५८औँ मिनेटमा असिफबेक ओरिफजोनोभले डिबक्सबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए । 

खेलको ६३औँ मिनेटमा सात्तोरोभले थ्री स्टारका तीन डिफेण्डरलाई छक्काएर गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको ८७औँ मिनेटमा साइडजामोलले थप एक गोल गरेपछि थ्रीस्टार फराकिलो अन्तरले पराजित हुन पुग्यो । थ्रीस्टार क्लबले खेलमा केही गोल गर्ने मौका पाएको थियो । तर उसले खेलमा प्राप्त अवसरको सदुपयोग गर्न सकेन । 

प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्