
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ ।
मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको तर ठूलो पानी नपर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगतमा पनि यसैगरी प्रणाली विकास भएको बताउँदै महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पानी पार्ने खालको भने भएको उल्लेख गरिन् । आजको प्रणाली पनि त्यसैको निरन्तरता भएको मौसमविद्ले जनाएका छन् ।
वरिष्ठ मौसमविद् मानन्धरले भनिन्, “पश्चिम क्षेत्रमा हल्का छिटपुट वर्षाको सम्भावना छ । आज देशैभर धुम्म बादल लागिरहेको छ, काठमाडौँमा पनि त्यही अवस्था हो, सुुदूरपश्चिम, कर्णालीमा छिटपुट वर्षा हुने भए पनि कमजोर प्रणाली हो ।”
उनले यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको बताइन् । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उनले अझै पनि सुक्खा बढाउने बताइन् ।
अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्काे सातादेखि विस्तारै तापक्रम बढ्दै जाने बताइएको छ ।