२७ जेठ २०८३, बुधबार
सामाजिक सञ्जाल प्रयोगमा कडाइ

बोल्न पाउनुपर्छ भन्ने कम्युनिस्ट पार्टी नै लगाउँदैछन् बोलीमा प्रतिबन्ध

फागुन ४, २०८१
विराटनगर
बोल्न पाउनुपर्छ भन्ने कम्युनिस्ट पार्टी नै लगाउँदैछन् बोलीमा प्रतिबन्ध

कम्युनिस्ट पार्टीको राजनीतिक गर्नेहरू आफूलाई प्रगतिशील भन्छन् । विचार र अभिव्यक्ति स्वतन्त्रताको हिमायती ठान्छन् । तर, यिनै पार्टीहरू अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गतिविधि गरिरहेका छन् । सत्तामा रहेका मात्र होइन, सत्ताबाहिर रहेका दल पनि यही बाटोमा अघि बढेका छन् । 

संघीय सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक र कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकको आलोचना भइरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पनि पार्टी सत्तामा प्रतिबन्धको अभ्यास गरेको छ । 

नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार र गोपनीयताको हक उल्लंघन गर्ने गरी विधेयक ल्याएको भन्दै आलोचना भइरहेको छ । यसरी आलोचना गर्नेमा माओवादी केन्द्र पनि अग्रभागमै छ । 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्’डले सरकारले नागरिकको मौलिक अधिकार हनन् गर्न खोजेको भन्दै चर्को भाषण नै गर्दै आएका छन् । तर, बिर्सिन नहुने कुरा उनै प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटक नै बन्द गराएको थियो ।  

यसरी हेर्दा कम्युनिस्टहरू नै पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति कडा हुन् थालेका छन् । यसको पछिल्लो उदाहरणका रूपमा माओवादीको कोशी प्रदेश समितिको निर्णयलाई लिन सकिन्छ । शनिबार विराटनगरमा बसेको प्रदेश परिषद्को बैठकले राजनीतिक, वैचारिक वा अन्य कुनै पनि प्रकारका असन्तुष्टिहरूलाई सामाजिक सञ्जालमा अभिव्यक्त गर्न प्रतिबन्ध लगाएको छ । यस्ता गतिविधि पार्टी अनुशासन विपरीत हुने माओवादीको संश्लेषण छ । 

प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले पार्टीलाई अनुशासित र विधिसम्मत सञ्चालन गर्न भन्दै बैठकमा ‘सामाजिक सञ्जाल प्रतिबन्ध’को प्रस्ताव ल्याएका थिए । 

पार्टी अनुशासनलाई व्यवस्थित रूपमा पालना गर्ने, आफ्ना असन्तुष्टि, पार्टी नेतृत्वप्रतिको आलोचना वा पार्टी जीवनसँग जोडिएका अन्य विषयमा पार्टीका बैठकहरूमा खुलेर बहस, विवाद, टिप्पणी र आलोचना गर्ने परिपार्टी विकसित गर्न भन्दै गरेको प्रस्ताव बैठकले अनुमोदन गरेको थियो । 

स्रोतका अनुसार बैठकमा नेम्वाङले अहिलेसम्म लेख्नेको एक/एक हिसाब राखिएको र फेरि लेखिए कारबाही गर्ने चेतावनी दिएका थिए । 

‘पार्टीका साथीहरूले आफ्ना असन्तुष्टि, पार्टी नेतृत्वको आलोचना र पार्टीसँग सम्बन्धी अन्य विरोधलाई सामाजिक सञ्जालमा राख्ने कामलाई नियन्त्रण गर्न जरुरी छ । जे जति विरोधहरू छन्, असन्तुष्टि र आलोचना गर्नुपर्ने विषयहरू छन्, ती सम्बन्धित कमिटीमा, पार्टीको बैठकमा वा नेतृत्वसँग भेटेर खुलेर राख्न पाइन्छ, पाउनुपर्छ’, नेम्वाङले बैठकमा भनेका थिए, ‘तर, सामाजिक सञ्जालमा राखेर बैरी हँसाउन दिन हुँदैन । त्यसैले आजसम्म जे भयो भयो तर, अबका दिनमा यो अनुशासनको विषय बन्नुपर्छ र त्यस्तो गरेमा पार्टीले कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव पेस गर्दछु ।’ 

उक्त प्रस्तावलाई बैठकले उत्साहपूर्वक पारित गरेको बैठकमा सहभागी एक नेताले बताए । 

त्यति मात्र होइन, माओवादी केन्द्रको प्रदेश कमिटीको बैठकले प्रदेशमा आफूखुशी पार्टी नेतृत्वलाई ल्याएर कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रम प्रदेश पार्टीसँगको समन्वयमा मात्र गर्न पाइने निर्णय पनि गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङलगायतका नेताहरूलाई राखेर गरिएको उक्त प्रस्ताव पनि एकमतले पारित भएको छ । 

माओवादी मात्र होइन अर्को कम्युनिस्ट पार्टी नेकपा एमालेले पनि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । एमालेले पार्टीका निर्णयविरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई कारबाहीको डण्डा नै बर्साएको थियो । 

मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णयको आलोचना गरेपछि भीम रावल, विन्दा पाण्डे र उषा किरण तिम्सिनामाथि  कारबाही गरिएको थियो । भीम रावल त पार्टीबाटै निकालिएका छन् । 

एमालेको कोशी प्रदेश कमिटीले पनि पूर्व प्रदेशसभा सदस्य रहेका विमल कार्कीलाई सामाजिक सञ्जालमा लेखिएको विषयमा कारबाही गरेको छ । गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असन्तुष्ट कार्कीले विरोध गरेपछि एमाले प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको र तोकिएको समयमा स्पष्टीकरण नबुझाएकाले उनलाई पदबाट ६ महिनाका लागि निलम्बन गरेको प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए । 

लहलहैमा लागेर कुनै पनि सदस्यले पार्टीको नीति र नेतृत्वविरुद्ध नलेख्नसमेत एमाले प्रदेश कमिटीले उर्दी जारी गरेको छ । नीति र नेतृत्वविरुद्ध लेख्नेलाई  कडा कारबाही गर्ने एमालेको चेतावनी छ  । एमालेले पार्टीका सदस्यहरूको सामाजिक सञ्जालको अकाउन्टसमेत जाँच गर्ने समेत चेतावनी  दिइसकेको छ ।
 
सामाजिक सञ्जालमा लेख्न रोक लगाउनुलाई राजनीतिक विश्लेषक कृष्ण पोख्रेलले हिजोको धङधङीका रूपमा अर्थ्याउँछन् । ‘जतिबेला कम्युनिस्ट पार्टी बने त्यतिबेला सामाजिक सञ्जाल थिएनन् । हिजो पाटीहरूले के गर्थे भने कमिटीमा कुरा राख्ने निर्णय भइसकेपछि निर्णयलाई मान्ने भन्ने हुन्थ्यो’, उनले भने ‘हिजोको पार्टी सञ्चालनको धङधङी नयाँ परिवेशमा पनि उस्तै छ ।’

स्वस्थ बहसलाई प्रतिबन्ध गर्दा पार्टीहरूका लागि पृष्ठपोषण नहुने उनको भनाइ छ ।  ‘सामाजिक सञ्जालमा लेख्ने भनेको पार्टीको निर्णय, कामका बारेमा असन्तुष्टि चित्त नबुझेपछि हो  । स्वस्थ र रचनात्मकतातर्फ जानुपर्ने भए पनि रोक्ने भनेको चाहिँ हिजोको ह्याङओभर हो’, उनले भने ।   

salt training

कमेन्ट गर्नुहोस्