
पोखरास्थित पश्चिमाञ्चल क्याम्पसमा साहित्यिक, सांस्कृतिक तथा साङ्गितिक महामिलन (त्रिवेणी) सम्पन्न भएको छ। इन्जिनियरिङ साहित्य सञ्जाल (इन्सास) र पोखराको आयोजनामा फागुन २ अर्थात् भ्यालेन्टाइन डे को अवसरमा कार्यक्रम सम्पन्न भएको हो ।
इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूलाई साहित्य, कला र संस्कृतिप्रति अभिप्रेरित गर्दै देशको साहित्य र संस्कृतिबारे जानकार गर्ने उद्देश्यले आयोजना गरिएको क्याम्पसले जनाएको छ ।
इन्जिनियरिङ साहित्य सञ्जाल (इन्सास), पोखराका अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब ३ हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न विधाका प्रतिष्ठित साहित्यकार, कवि तथा कलाकारहरूको ओजस्वी उपस्थिति रहेको थियो।
कार्यक्रममा चर्चित गायक बसन्त थापाले आफ्नो शानदार प्रस्तुति दिएका थिए । देशका ख्यातिप्राप्त कवि,लेखक तथा साहित्यकारहरूले विभिन्न विधाका उत्कृष्ट साहित्यिक कृतिहरू प्रस्तुत गरेका थिए । गजल, मुक्तक, कविता, कथा एवम् लघुकथा वाचन, गद्य तथा पद्य रचनाहरूको वाचन तथा सृजनशील प्रस्तुतिहरूले कार्यक्रममा साहित्यको उच्चतम स्तर दर्शाएको थियो।
त्रिवेणी कार्यक्रममा देशका विभिन्न कुनामा रहेका फरक संस्कृतिहरु देखाउने जमर्को गरिएको थियो। सुदूरपश्चिमको देउडादेखि मिथिलाको मिथिला नाचसम्म कार्यक्रममा समावेश थियो। साथै अन्य जातजातिका मौलिक संस्कृति जस्तैः रत्यौली, दोहोरी, कृतनहरू पनि देखाइएको थियो ।