२६ जेठ २०८३, मंगलबार
जेलेन्स्कीका दु:ख

अमेरिकी सहयोगको आशा नगरी युद्ध लम्ब्याउने कि नेपालबराबरको भूमि गुमाउने ?

फागुन ५, २०८१
काठमाडौं
अमेरिकी सहयोगको आशा नगरी युद्ध लम्ब्याउने कि नेपालबराबरको भूमि गुमाउने ?

२०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेयता युक्रेनले आफ्नो जमिनको करिब २० प्रतिशत क्षेत्र गुमाइसकेको छ ।

युक्रेनले गुमाएको मुख्य भूमि डोनेट्स्क र लुहान्स्क (डोनबास क्षेत्र) हो । यी दुई प्रान्तमाथि रुसले २०१४ देखि नै अतिक्रमण थालेको थियो । २०२२ पछि रुसले यहाँ आफ्नो उपस्थितिका लागि संघर्ष जारी राखेको छ ।

रुसले जापोरीजिया क्षेत्र पनि आफ्नो कब्जामा लिएको छ । विशेष गरेर जापोरीजिया न्युक्लियर प्लान्टको आसपास रहेको यो क्षेत्र युक्रेनले फिर्ता गर्न सकेको छैन ।

त्यस्तै, खेरसोन क्षेत्र २०२२ को मार्च महिनामा रुसले कब्जा गरेको थियो, तर युक्रेनी सेनाले २०२२ को अन्त्यतिर खेरसोन पुनः प्राप्त गर्न सफल भएको थियो ।

त्यस्तै, रुसले २०१४ मै कब्जा गरेको २७ हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको क्रिमिया द्वीप पनि युक्रेनको महत्त्वपूर्ण हिस्सा थियो । अहिले त्यसबारे कुरा हुन छाडेको छ ।

युक्रेनको जम्मा क्षेत्रफल ६ लाख ३ हजार ५४५ वर्ग किलोमिटर हो, जसमा नेपालको क्षेत्रफल बराबरको भूमि अहिले रुसको कब्जामा छ ।

युद्धका कारण यति धेरै भूमि गुमाइसकेको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की पछिल्लो समय अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग खुसी छैनन् ।

कारण हो, ट्रम्प र पुटिनको पुरानो दोस्ती । ट्रम्प र उनको प्रशासनले रुस-युक्रेन युद्ध समाप्त गर्ने नाममा गुमेको भूमि रुसलाई नै दिन खोजेको आरोप उनले लगाउने गरेका छन् । उनीसँगै युक्रेनी जनता पनि ट्रम्पसँग खुसी छैनन् ।

एकातिर युद्धको चपेटामा परेर लाखौं युक्रेनी शरणार्थी बनेका छन् भने युक्रेनको अर्थतन्त्र ध्वस्त भएको छ । जेलेन्स्की युद्ध रोकेर गुमेको भूमि बिर्सनुपर्ने या युरोपसँग सहयोग मागेर युद्ध लम्ब्याउनुपर्ने दोसाँधमा छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२२ को मार्च १६ मा पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका थिए ।

त्यतिबेला बाइडेन प्रशासनले युक्रेनलाई युद्धका लागि चाहिने हतियार र पैसा उपलब्ध गराइरहेको थियो । अमेरिकाकै मुख हेरेर पुटिनसँग दुश्मनी मोलेका जेलेन्स्कीका दु:खका दिन ट्रम्प राष्ट्रपति भएसँगै शुरू भएको छ ।

बाइडेनकै पहलमा २०२३ को मार्च १७ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको थियो ।

पुटिनलाई 'युद्ध अपराधी' भनेका बाइडेनसँग पुटिनको प्रत्यक्ष भेटघाट निकै कम भएका छन् । युक्रेन युद्ध शुरू भएपछि दुवै नेताबीच भेटघाट भएको छैन ।

पुटिन बाइडेनका लागि युद्ध अपराधी, ट्रम्पका नजिकका मित्र !

तर, ट्रम्पले युक्रेन युद्धमा बाइडेनले लिएको अडानभन्दा बिल्कुल उल्टो बाटो लिएका छन् । यसको मुख्य कारणका रूपमा ट्रम्प र पुटिनबीचको गहिरो मित्रतालाई लिइन्छ ।

कतिपय अमेरिकीहरूले अमेरिकाको चुनावमा पुटिनले हस्तक्षेप गरेर ट्रम्पलाई जिताउन प्रभावकारी भूमिका खेलेको आरोपसमेत लगाउने गरेका छन् ।  

ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा पुटिनसँग नजिकको सम्बन्ध स्थापना गरेका थिए, जसले अमेरिकी राजनीतिमा ठूलो विवाद र बहस निम्तिएको थियो ।

ट्रम्पले २०१६ को राष्ट्रपति चुनावी अभियान चल्दै गर्दा रुसी समकक्षी पुटिनको नेतृत्वलाई मजबुत र विकसित भनेर सराहना गरेका थिए ।

उनले पटक-पटक पुटिनलाई शक्तिशाली नेता र सकारात्मक व्यक्ति भन्दै गरेको टिप्पणीले उनीहरूको मित्रता थप मजबुत भयो ।

२०१६ को निर्वाचन जितेर ट्रम्प पहिलोपटक राष्ट्रपति बनेपछि २०१७ मा जर्मनीमा भएको जी-२० शिखर सम्मेलनमा ट्रम्प र पुटिनबीच एकअर्कासँग सहमतिका विषयमा कुरा भएको थियो ।

ट्रम्पले पुटिनसँगको व्यक्तिगत सम्बन्धलाई विशेष महत्व दिएका थिए र यसको सार्वजनिक रूपमा प्रशंसा गरेका थिए ।

पुटिनले ट्रम्पसँग आफ्नो सम्बन्ध राम्रो रहेको टिप्पणी गर्दै उनलाई 'अमेरिकी समाजको प्रतिविम्ब' भन्दै प्रशंसा गरेका थिए ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति नबन्दै युक्रेनलाई दिइएको अमेरिकी सहयोग रोक्ने अभिव्यक्ति दिएका थिए ।

राष्ट्रपति बनेसँगै ट्रम्प अहिले युक्रेन युद्ध समाप्तिको विषयलाई लिएर गरिरहेका कतिपय गोप्य बैठकबाट युरोपेली नेताहरू सशंकित बनेका छन् ।

हालै सम्पन्न म्युनिख सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच भेट भएको थियो ।

उक्त भेटपछि भान्सले अमेरिकाले युक्रेनलाई निरन्तर समर्थन दिने कुरा सुनिश्चित गर्न नसकेको बताएका थिए ।

युक्रेनको सुरक्षाका लागि अमेरिकासँग कुनै ठोस योजना छैन भन्ने संकेत पाएपछि जेलेन्स्की निराश बनेका छन् । उनले अमेरिका र युरोप एकजुट भएर मात्रै पुटिनसँग शान्ति वार्ता गर्नुपर्ने बताएका छन् ।

युरोपेली संघका नेताहरूले पनि ट्रम्पको यो रणनीतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । ट्रम्प प्रशासनको ‘अमेरिका फर्स्ट’ नीतिले युक्रेनलाई कमजोर बनाउने र रुसलाई थप बलियो बनाउने सम्भावना देखिएको छ ।

अमेरिका अहिले युक्रेनलाई नयाँ सैन्य सहायता दिने निर्णयमा हिच्किचाइरहेको छ । यही विषयलाई लिएर युरोपेली नेताले आकस्मिक बैठक बोलाएका छन् ।

आगामी एक साताभित्र साउदी अरबको मध्यस्थतामा ट्रम्प र पुटिनबीच गोप्य वार्ता हुने अनुमान पश्चिमा सञ्चारमाध्यमहरूले गरेका छन् ।

बीबीसीले विभिन्न स्रोतको हवाला दिँदै उक्त वार्तामा जेलेन्स्कीलाई निम्तो नभएको समाचार प्रकाशित गरेको छ । जेलेन्स्कीले आफूविनाको वार्ताले युद्धविरामसम्म पुग्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

युक्रेनको लागि कूटनीतिक संकट

यतिबेला अमेरिकाको अस्पष्ट नीति, ट्रम्प प्रशासनको रुसप्रतिको नरम दृष्टिकोण र युरोपको विभाजित कूटनीति युक्रेनका लागि गम्भीर समस्या बनिरहेको छ ।

युक्रेन आफूलाई नाटोमा सहभागी गराइने आशामा छ । तर, अमेरिकाले त्यसलाई सहज रूपमा स्वीकार्ने संकेत दिएको छैन ।

नयाँ अमेरिकी रक्षा सचिव पीट हेगसेथले हालै भनेका थिए, ‘युक्रेनको नाटो सदस्यता अहिलेको अवस्थामा व्यावहारिक छैन ।’

यो भनाइले युक्रेनलाई थप अप्ठ्यारो अवस्थामा पारेको छ । युरोपले मात्र सैन्य सहायता दिएर युक्रेनलाई दीर्घकालीन रूपमा सुरक्षा प्रदान गर्न सक्दैन भन्ने कुरा जेलेन्स्कीले राम्रोसँग बुझेका छन् ।

ट्रम्पको विदेश नीति, अमेरिका-रुस सम्बन्धको नयाँ समीकरण र युरोपको असमञ्जसता बीच युक्रेनले अब कस्तो नीति अवलम्बन गर्ने भन्ने ठूलो प्रश्न उठेको छ ।

यदि अमेरिकाले युक्रेनलाई सैन्य सहायता दिन हिच्किचायो भने युद्धको समीकरण बदलिन सक्छ ।

अमेरिकाको पछिल्लो रणनीतिपछि युरोप आफ्नो सुरक्षाका लागि आफैं रणनीति तय गर्न बाध्य भएको छ । यस्तो परिस्थिति युक्रेनका लागि यो एउटा नयाँ संकटको घडी बनेर उदाएको छ । युक्रेन पनि आफ्नो सुरक्षा रणनीति आफैं तय गर्न बाध्य हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्