
झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ बिघा जमिनमा परीक्षणका लागि चैते धान रोप्ने भएको छ ।
परम्परागतभन्दा मेसिनरी प्रयोगरी गरिएको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन)गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
उनका अनुसार स्थानीय पालिकाहरूको सहयोगमा कृषक समूको छनोट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न शुरू गरेको छ । छनोटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को विनायक कृषक समूह र कमल गाउँपालिका–१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिए ।
यसैगरी माईपूर्व बुद्धशान्ति गाउँपालिका–३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका–३ स्थित सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका–३ को आपगाछी कृषि तथा पशुपालन फार्म र हल्दिबारी गाउँपालिका–४ स्थित अमराघुट्टु कृषक समूह अन्तरगत कृषियन्त्र प्रयोग प्रदर्शन गरिने भएको छ ।
उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग भाडामा लिएर कृषि उपकरण किसानलाई निःशुल्क उपलब्ध गराइएको बताए। उनले प्रत्येक कृषक समूहलाई छ विगाहको दरले सो धान खेती गराउने जानकारी दिए ।
कृषक समूहलाई निःशुल्क धानको बीउ, ब्याड राख्ने ट्रे र धान रोप्ने मेसिन उपलब्ध गराइएको उनले बताए । प्रमुख विष्टले मल, खनजोत र बालीको रेखदेख किसान स्वयम्ले गर्नुपर्ने बताउँदै ट्रेमा राखिएको विउ मर्न थालेमा आवश्यकता अनुसार विषादिसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिए ।
तोएिका समूहमध्ये अधिकांशले ब्याड राख्ने काम गरिरहेका छन् । १५० वटा ट्रेमा उमारिएको विउले एक विगाह जमिनलाई पुग्ने र यो धान विउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उनको भनाइ छ । केन्द्रका अनुसार धानको विउ राखेको २५ दिनमै खेतमा राप्ने सकिने छ । रासस