२७ जेठ २०८३, बुधबार
सट्टेबाजीको अखडा बन्दै नेपाल

सट्टेबाजीको मौलाउँदो धन्दा : खातामा अर्बौंको कारोबार, तर भेटिँदैन एक सुको

फागुन ९, २०८१
काठमाडौं
सट्टेबाजीको मौलाउँदो धन्दा : खातामा अर्बौंको कारोबार, तर भेटिँदैन एक सुको

नेपाल प्रहरीले ३ सातायता सट्टेबाजी (अवैध अनलाइन जुवा) खेलाइरहेका ४ वटा समूहलाई पक्राउ गर्‍यो । सिंगै घर भाडामा लिएर निर्बाध सट्टेबाजी खेलाउँदै आएका उनीहरूबाट पैसा भने बरामद भएन । 

डेढदेखि २ लाख रुपैयाँसम्ममा घर भाडामा लिएर रातको समयमा मात्रै सट्टेबाजीमा सक्रिय गिरोहको ल्यापटप र मोबाइल हेर्दा अर्बौं रुपैयाँको कारोबार भएको देखिन्छ । तर, ती सबै रकम भारतका विभिन्न बैंकमा ‘ट्रान्सफर’ भएको छ । 

बूढानीलकण्ठ नगरपालिका– ५ स्थित एक घरमा सट्टेबाजी खेलाइरहेको सूचना पाएपछि प्रहरीले छापा मार्‍यो । त्यहाँबाट २४ जना भारतीय नागरिकलाई पक्राउ गरियो । आफू महाराजगंजस्थित घरमा बसेर बूढानिलकण्ठमा रहेको घर भाडामा लगाएका घरधनीले प्रतिमहिना २ लाख रुपैयाँ भाडा पाउने शर्तमा २ वर्षका लागि सम्झौता गरेका थिए । गिरोहले आफ्नो भेद खुल्ने आशंका गर्दै नेपाली नागरिकमार्फत नै घर भाडामा लिने सम्झौता गरेको देखिन्छ । 

विगत ४ महिनादेखि निर्बाध सट्टेबाजी खेलाइरहेको गिरोहमध्येका मुख्य नाइके भने भारतमै थिए । 

बूढानीलकण्ठमा मोहम्मद दानिस नाम गरेका व्यक्तिलाई रेखदेख र ल्यापटप ‘अपरेटिङ’ को जिम्मा दिइएको थियो । अन्य दिन राति मात्रै सट्टेबाजी गराउँदै आएका यो समूहले गत मंगलबार भने दिउँसै खेलाउन शुरू गरेको सूचना प्रहरीले पाएपछि छापामारी भयो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्का नेतृत्वको टोली घरमा पुग्दा धमाधम सट्टेबाजी खेल भइरहेको थियो । त्यो पनि माथिल्लो तलामा । भुइँतलामा भने चारजना मात्रै रेकी गर्न बसेका थिए । त्यहाँबाट प्रहरीले २४ जनालाई नियन्त्रणमा लियो । प्रहरीले २१ वटा ल्यापटप, ३८ वटा मोबाइल, तीनवटा राउटर, सट्टेबाजी खेलाउँदा हिसाब राख्ने डायरी, १२ वटा राहदानी र केही भारतीय आधारकार्ड बरामद गर्‍यो । 

ल्यापटप र मोबाइल खोतल्दा ‘स्काईएक्ससीएच डट आर्ट’ मार्फत विश्वभर सञ्चालन हुने अनलाइन गेममार्फत वानएक्सवेटलगायत साइट प्रयोग गरेर सट्टेबाजी खेलाउँदै आएको तथ्य खुल्यो ।

एजेन्टहरूसँग ह्वाट्सएपमार्फत अनलाइनमै गफ गरेर खेलमा हार/जीत भएको रकम भारतकै विभिन्न बैंकमा जम्मा गर्दै आएको अनुसन्धानबाट खुल्यो । 

अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार गिरोहले भारतको आईडीबीआई बैंकमा खोलिएको मुम्बईस्थित श्रीराधे वुमेन्स क्लोथिङको नाममा रहेको खाता, डीसीबी बैंकमा शिव एशोसिएट्सको नाममा खोलिएको खाता, आईडीबीआईमै राजस्थानस्थित शोयव अख्तर नामक व्यक्तिको खाता, आईडीबीआईमै मुम्बईस्थित प्लाटिनम ब्याग नामक कम्पनीको खाता, राजस्थानकै टेक्सटाइल नेशन नामक कम्पनीको नाममा आईडीबीआई बैंकमा रहेको खाता, मुम्बईस्थित मर्सोमा नामको कम्पनीले डीसीबी बैंकमा खोलेको खाता, मुम्बईकै जुहु भिली पार्ले नामक कम्पनीले बैंक अफ बरोडामा खोलेको खाता र दी रोल फ्याक्ट्री नामक कम्पनीले मुम्बईस्थित आईडीबीआई बैंकमा खोलेको खातामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रुपैयाँ ट्रान्सफर गरेको देखिएको छ । 

नेपाली भूमि प्रयोग गरेर सट्टेबाजी खेलाएको अर्बौं रुपैयाँ भारतीय गिरोहले आफ्नै मुलुकका बैंकहरूमा जम्मा गरेका हुन् । गिरोहले केही रकम नेपाली बैंकमा जम्मा गर्न लगाएर तुरुन्तै भारतीय बैंकमा ट्रान्सफर गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

‘सट्टेबाजी गराएको सूचना पाएपछि छापा मार्‍यौं । पैसा बरामद भएन । गिरोहले भारतकै विभिन्न बैंकमा ट्रान्सफर गराएको देखियो,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश कुमार बस्नेतले लोकान्तरसँग भने, ‘यस्ता गिरोहले अनलाइनमार्फत नै रकमको कारबार गर्ने हुँदा रकम बरामद हुने सम्भावना निकै कम हुन्छ ।’

प्रहरीले गिरोहमध्ये भारतीय नागरिकहरू अजयकुमार, मोहम्मद चाँद, जय कुमार, मोहम्मद नफिस, गुल्फाम खान, मोहम्मद वासिम, रियाज अहमद, मोहम्मद सानवाज, जमालउद्दिन शेख, मोहम्मद हमिद रजा, सुभाष चौधरी, मोहम्मद अब्बस, अनिश कुमार, आलम शेख, मसली उद्दिन शेख, मोहम्मद नदिम, मोहम्मद इमरान, मनिष कुमार, मोहम्मद हेदायत, मोहम्मद जनसार, मोहम्मद बिलाल, मोहम्मद असिम, मोहम्मद सर्फराज र मोहम्मद दानिसलाई पक्राउ गरेको थियो । 

यसअघि गत सोमबार जिल्ला प्रहरी पसिर काठमाडौंले बूढानीलकण्ठ नगरपालिका– २ तौलुङस्थित एक घरबाट अनलाइनमार्फत सट्टेबाजी धन्दा चलाइरहेका ४ भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

उनीहरूले पनि विगत एक महिनादेखि निर्बाध सट्टेबाजी खेलाउँदै आएका थिए । उक्त अवधिमा २ अर्ब रुपैयाँको सट्टेबाजी खेलाइसकेका थिए । सो रकम पनि सिधै भारतका विभिन्न बैंकमा ट्रान्सफर गरेको अनुसन्धानले देखाएको थियो ।

त्यसअघि गत माघ २९ मा बूढानीलकण्ठ– ३ गैरीगाउँस्थित एक घरबाट सट्टेबाजी गिरोहका २३ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

डेढ महिनादेखि सट्टेबाजी खेलाएको यो गिरोहले ३ अर्ब १३ करोड रुपैयाँको कारोबार गरिसकेको उनीहरूबाट बरामद ल्यापटप र मोबाइलबाट पुष्टि भएको थियो । 

गत माघ २० गते ललितपुरको सानेपाबाट १४ नेपाली र १० भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको अवस्थामा पक्राउ गरेपछि प्रहरीले भारतीय गिरोह काठमाडौं उपत्यकामा सक्रिय रहेको सूचना पाएको थियो । सानेपामा दुईवटा घर भाडामा लिएर विगत सात महिनादेखि सट्टेबाजी खेलाउँदै आएका यो गिरोहले पनि ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँको कारोबार गरेको भेटिएको थियो । दुईवटा घर मासिक १ लाख ९० हजार तिर्नेगरी भाडामा लिएको थियो ।

रकम बरामद नहुँदा मुद्दा कमजोर हुने र अभियुक्त छुट्ने सम्भावना देखिन्छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार भारतीय गिरोहले नेपाली नागरिक प्रयोग गरेर उनीहरूकै नाममा बैंक खाता खोल्ने र घर भाडामा लिन सम्झौता गर्ने गरेको देखिन्छ ।

‘जति पनि पक्राउ परेका छन्, उनीहरू सबै तलब र कमिसनमा काम गर्दै आएका व्यक्ति हुन्,’ बस्नेतले भने, ‘सट्टेबाजीका मुख्य नाइकेले भारतमै बसेर निर्देशन दिने गरेको देखिन्छ ।’ 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार सट्टेबाजी गर्ने गिरोहले शुरूमा घर भाडामा लिने र एकदेखि डेढ महिनामा ल्यापटप लगायतका प्रविधिजन्य वस्तुको व्यवस्थापन पछि मात्रै रेकी गरेर सट्टेबाजी खेलाउँदै आएको देखिन्छ ।

घर भाडामा लगाएपछि सम्बन्धित वडामा बहालकर तिर्नुपर्ने भएपनि त्यसो नगर्दा कसले भाडामा कुन प्रयोजनका लागि लिएको हो भन्ने खुल्दैन । बूढानीलकण्ठमा घर भाडामा लगाएका घरबेटीले आईटी कम्पनीलाई भनेर भाडामा दिएका थिए । तर, त्यहाँ भएका गतिविधिबारे थाहा पाएनन् । 

‘भाडा लिने प्रयोजनका लागि मात्रै घर भाडामा लगाउँदा त्यहाँ भएका अवैध गतिविधिको मतियार घर धनीलाई बनाउनुपर्ने अवस्था आउन सक्छ,’ एसएसपी बस्नेतले भने, ‘पैसा आउँछ भन्दैमा हुँदैन, घरधनीले के कामका लागि हो भनेर निगरानी गर्नुपर्छ नि ।’ 

पक्राउ परेकाहरूले सट्टेबाजी खेलाउने गिरोहको नाइके खुलाएको अवस्थामा फरारको सूचीमा राखेर खोजी गरिरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्