
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशलाई समृद्ध बनाउनका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
आज दैलेखमा राजनीतिक भेटघाट तथा चियापान कार्यक्रममा उनले पार्टीलाई आत्मनिर्भर बनाउन चालिएका कदमको चर्चा गर्दै यस्तो बताएका हुन् ।
'डेढ वर्षको उत्पादनले पार्टीलाई पुगेको छ । चन्दा उठाएर खानुपरेको छैन,' उनले भने, 'यो देश बनाउने हो भने उत्पादनमा जोड दिनुपर्छ ।'
आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई अहिले खानाका लागि समस्या नभएको दाबी उनको छ । उनले चन्दा माग्ने संस्कार अन्त्य गर्ने आफ्नो अठोट रहेको स्पष्ट पारे ।
'हामीले पार्टीलाई माग्न नपर्ने अवस्थामा पुर्याउने अठोट गरेका छौं । अब भातका लागि कसैलाई गुहार्नुपर्ने स्थिति छैन,' उनले भने ।
जुम्लामा सामुदायिक स्याउखेती गर्न जाने क्रममा दैलेख आइपुगेका उनले आफ्नो पार्टी सत्तामा नभए पनि उत्पादन गरेर आफूले खाने र गरिब जनतालाई खुवाउने अठोटका साथ काम गरिरहेको बताए ।
पार्टीलाई तराई–मधेशमा धान, पहाडमा सुन्तला, हिमालमा स्याउ र जडीबुटी रोपेर आत्मनिर्भर भएर जनतामा जाने प्रतिबद्धता उनको छ ।