अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने वार्तामा युक्रेनको भूमि र पावर प्लान्टजस्ता महत्त्वपूर्ण सम्पत्तिको विभाजनबारे छलफल गर्ने घोषणा गरेका छन् ।
यसबारे टिप्पणी गर्दै ट्रम्पले सञ्चारकर्मीसँग भने, ‘हामी पहिले नै सम्पत्ति र भूमिको विभाजनबारे कुरा गरिरहेका छौं ।’
युक्रेनमा जारी युद्धको समाधान निकाल्न विवादित क्षेत्र र सम्पत्तिको वितरणबारे पुटिन र ट्रम्पबीच मंगलबार वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युद्ध समाप्त पार्न सकिने सम्भावनाबारे ट्रम्पले ‘सावधानीपूर्ण’ आशा व्यक्त गरेका छन् । उनले भने, ‘सायद हामी सक्छौं, सायद सक्दैनौं । तर, मलाई लाग्छ हाम्रो राम्रो मौका छ ।’
अमेरिकाले लामो समयदेखि युक्रेन युद्धमा दुवै पक्षलाई युद्धविराम गर्न दबाब दिइरहेको छ । तर, रुसले अझै पनि स्पष्ट धारणा अघि सारेको छैन ।
बरु, मस्कोले युद्धविराम अघि पूरा हुनुपर्ने विभिन्न शर्तहरू पेस गरेको छ । यी शर्तमा युद्धका क्रममा रुसले कब्जा गरेका भूमि फिर्ता नगरिने, युक्रेनले नेटो सदस्यता पाउन नहुने जस्ता कडा प्रावधान रहेको बीबीसीले जनाएको छ ।
शान्तिको पहलसँगै दुवै देशबीच लडाईं भने जारी छ । युक्रेनी र रुसी दुवै पक्षले एकअर्काका भूमिमा ड्रोन आक्रमण रातभर जारी राखेका छन् ।
युक्रेनले रुसले अझै पनि उत्तरी सुमी क्षेत्रमा आक्रमण गर्ने प्रयास गरिरहेको बताएको छ । कुर्स्क क्षेत्रसँग जोडिएको यो भूमि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ ।
बीबीसीका संवाददाता जोनाथन बिलले अग्रपंक्तिमा रहेका युक्रेनी सैनिकहरूसँग कुराकानी गरेका छन् । कुराकानीमा ती सैनिकले आफूसँग पर्याप्त हतियार नभएकाले पछि हट्नुपर्ने बाध्यता रहेको बताएको बीबीसीले जनाएको छ ।