
अमेरिकी अन्तरिक्षयात्री बुच विलमोर र सुनी विलियम्स निर्धारित समयभन्दा एक दिन अगाडि मंगलबार राति पृथ्वी फर्कने भएका छन् ।
अन्तरिक्ष स्टेसनमा केही महिना अघिदेखि अड्किएका यी दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउने योजना अन्तर्गत बुधबार उनीहरूलाई फर्काउने योजना थियो । तर, मौसम प्रतिकूल देखिएकाले नासाले मंगलबार नै ‘स्प्ल्यासडाउन’ गर्ने निर्णय गरेको हो ।
बुच र सुनी बोइङको स्टारलाइनर क्याप्सुलमार्फत् ५ जुन २०२४ मा अन्तरिक्ष स्टेसन पुगेका थिए । तर, अन्तरिक्ष स्टेसनमा पुगेपछि यो स्टारलाइनरको थ्रस्टरमा समस्या आएपछि दुवै अन्तरिक्षयात्री स्टेसनमै रोकिएका थिए ।
उनीहरूलाई पृथ्वीमा फर्काउने नयाँ योजना अनुसार ४ जना अन्तरिक्षयात्रीसहित पुगेको स्पेसएक्स ड्रागन अन्तरिक्षयान सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा डक गरिएको थियो ।
त्यहाँ बुच र सुनीले नयाँ अन्तरिक्षयात्रीको स्वागत मनोरञ्जनात्मक ‘एलियन एनकाउन्टर’ शैलीमा गरेका थिए । जसको भिडियो अहिले विश्वभर चर्चामा रहेको छ ।
अन्तरिक्ष स्टेसनमा ४ सदस्य थप पुगेसँगै त्यहाँ रहने सदस्यको संख्या ११ पुगेको छ । नयाँ टोलीको आगमनले अघिल्लो मिसन (क्रु-९) का चार सदस्यलाई अन्तरिक्ष स्टेसनबाट पृथ्वी फिर्ता पठाउन सहज बनाउनेछ ।
तिनीहरू आगामी सेप्टेम्बरमा जाने अर्को ड्रागन क्याप्सुलमार्फत् पृथ्वीमा फर्कने छन् ।
बुच र सुनीको सुरक्षित अवतरणको तयारी
बुच र सुनीको फिर्ती मंगलबार तय गरिएको छ । उनीहरूको अन्तरिक्षयानले पूर्वी समय अनुसार बिहान १ बजेर ५ मिनेटमा अन्तरिक्ष स्टेसनबाट ‘अनडक’ गर्नेछ र त्यसपछि पृथ्वी फर्किनेछ ।
नासाका प्राविधिक टोलीहरूले विभिन्न स्थानको मौसम अवस्थालाई ध्यानमा राख्दै ‘स्प्ल्यासडाउन’ स्थल तय गरेका छन् ।
नासाका अनुसार अन्तरिक्षयानले मंगलबार साँझ करिब ६ बजे समुद्रमा सुरक्षित रूपमा अवतरण गर्ने लक्ष्य राखेको छ ।
अन्तरिक्षयान फिर्ता ल्याउन विशेष उद्धार टोलीहरू तयार अवस्थामा छन् । बोइङ स्टारलाइनर अन्तरिक्षयानको थ्रस्टरमा समस्या देखिएपछि नासाले सम्भावित मर्मत तथा परीक्षणका लागि लामो समय खर्चिनु परेको थियो ।
अन्तरिक्षयात्रीको उत्साहजनक प्रतिक्रिया
नयाँ अन्तरिक्षयात्रीहरूको आगमनले अन्तरिक्ष स्टेसनमा उत्साह छाएको छ । सुनी र बुचले भनेका छन् ‘यो एक अद्भूत क्षण हो । नयाँ साथीलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ । अन्तरिक्षमा यति धेरै समय बिताएपछि नयाँ अनुहार देख्न पाउनु निकै रोमाञ्चक अनुभव हो ।’
नासाका अन्तरिक्षयात्री डन पेटिटले स्टेसनमा देखिएका अद्भूत दृश्यहरू कैद गरेका छन् । उनले खिचेको टाइम-ल्याप्स भिडियोमा क्रु-१० ड्रागन अन्तरिक्षयानलाई अन्तरिक्ष स्टेसनमा डक हुँदै गरेको देख्न सकिन्छ ।
नयाँ अन्तरिक्षयात्रीले पनि आफ्नो यात्रा अनुभव साझा गर्दै भनेका छन्, ‘यो अविश्वसनीय यात्रा थियो । यसरी पृथ्वीको परिक्रमा गर्ने अवसर प्राप्त गर्नु हाम्रो जीवनको सबैभन्दा रोमाञ्चक क्षणमध्ये एक रह्यो ।’
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा गरिने सामान्य यात्राको अवधि लगभग ६ महिना मात्र हुने गर्छ । तर, स्टारलाइनरमा आएको समस्या र हिलियम ग्यास चुहावटका कारण बुच र सुनीको पृथ्वी फर्किने योजना बारम्बार ढिलाइ हुँदै गएको थियो ।
हालसम्म अन्तरिक्षमा सबैभन्दा लामो समय बिताउने अमेरिकी अन्तरिक्षयात्रीको कीर्तिमान फ्र्यांक रुबियो को नाममा छ, जसले सन् २०२३ मा आईएसएसमा ३७१ दिन बिताएका थिए ।
विश्व कीर्तिमान भने रुसी अन्तरिक्षयात्री भलेरी पोल्याकभले बनाएका छन्, उनले ४३७ दिन लगातार अन्तरिक्षमा बिताएका थिए ।
बुच र सुनीको बसाइँ यति लामो नभए पनि अप्रत्याशित रूपमा उतै अड्किनुपरेकाले व्यापक चासो र सहानुभूति सिर्जना गरेको छ ।
केही दिनको तयारीसहित अन्तरिक्ष गएका उनीहरूका लागि मिसन लम्बिएपछि अतिरिक्त लुगा, व्यक्तिगत सरसफाइका सामग्री र अन्य आवश्यक सामग्री पठाउनुपरेको थियो ।