
भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मर झण्डै ९ महिना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा अड्किएपछि बल्ल पृथ्वीमा फर्किन लागेका छन् ।
स्पेसएक्सको ड्र्यागन अन्तरिक्ष यानमा सवार चारैजना अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (ISS) बाट प्रस्थान गरिसकेका छन् ।
यदि सबै कुरा सामान्य रह्यो भने, निर्धारित तालिकाबमोजिम अन्तरिक्ष यान नेपाली समयअनुसार बुधबार बिहान पौने ४ बजेतिर अवतरण गर्नेछ ।
तर, अवतरण प्रक्रियामा विभिन्न अवरोधहरू आउन सक्छन्, जसमध्ये खराब मौसम, प्यारासुट समयमा नखुल्नु र प्राविधिक समस्याहरू मुख्य छन् ।
पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश : सबैभन्दा जटिल चरण
स्पेसक्राफ्ट पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश (Reentry) सबैभन्दा संवेदनशील चरण हो ।
यदि सही कोण वा दबाब मिलेन भने अन्तरिक्ष यान दुर्घटनाग्रस्त हुन सक्छ ।
सन् २००३ को फेब्रुअरी १ मा नासाको कोलम्बिया अन्तरिक्ष यान पृथ्वीमा फर्कने क्रममा दुर्घटनाग्रस्त भएको थियो, जसमा कल्पना चावलासहित ७ जना अन्तरिक्ष यात्रीको मृत्यु भएको थियो । त्यसैले पुनः प्रवेश (Reentry) अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
अन्तरिक्ष यानलाई पृथ्वीको वायुमण्डलमा सटीक कोण (Angle) र गति (Speed) को साथ प्रवेश गराउनु पर्दछ । यदि कोण थोरै पनि बिग्रियो भने दुर्घटनाको सम्भावना रहन्छ ।
यदि स्पेसएक्सको ड्र्यागन अन्तरिक्ष यान गलत कोणमा प्रवेश गर्छ भने यो या त क्र्यास हुने वा पृथ्वीको वायुमण्डलबाट परावर्तित भएर स्पेसमा अनिश्चित समयसम्म अड्किने जोखिम रहन्छ ।
स्पेसक्राफ्ट पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि प्यारासुट समयमा नखुले पनि ठूलो दुर्घटना हुन सक्छ ।
यदि प्यारासुट समयमै नखुल्यो भने अन्तरिक्ष यान समुद्रमा निर्धारितभन्दा उच्च गतिमा ठोक्किन सक्छ, जसले अन्तरिक्ष यात्रीको ज्यान जोखिममा पार्न सक्छ ।
यसका अलावा, अन्तरिक्षमा थ्रस्टर (Thrustor) फेल हुँदा पनि समस्या आउन सक्छ । थ्रस्टरले नै अन्तरिक्ष यानको गति र दिशा नियन्त्रण गर्ने भएकाले यसको गडबडीले ल्यान्डिङलाई जोखिममा पार्न सक्छ ।
ड्र्यागन अन्तरिक्ष यान २७,००० किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ ।
पृथ्वीको सतहबाट १८,००० फिट उचाइमा दुईवटा ड्र्यागन प्यारासुट खुल्नेछन् । त्यसपछि ६,००० फिटको उचाइमा मुख्य प्यारासुटहरू खुल्नेछन् ।
नासाका अनुसार, अन्तरिक्ष यात्रीहरूको अवतरण फ्लोरिडाको तटीय समुद्रमा हुनेछ । तर, मौसम प्रतिकूल रहेमा ल्यान्डिङ अन्य स्थानमा पनि हुन सक्छ ।
अवतरणको अनुमानित समय बुधबार बिहान पौने ४ बजेतिर तोकिएको छ ।