
विद्यार्थी अभावले पहाडी जिल्लाका स्कूल खाली भइरहेको बेला रूपन्देहीका केही स्कूलबाट भने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सबैभन्दा धेरै विद्यार्थी सहभागी भएका छन् ।
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविबाट यस वर्ष एसईईमा सबैभन्दा धेरै ६५८ जना विद्यार्थी सहभागी भएका छन् ।
यो वर्ष विद्यालयबाट साधारण ६०९ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले लोकान्तरलाई जानकारी दिए ।
साधारण र प्राविधिकतर्फ गरेर कूल ६५८ जना रहेका छन । प्रअ लामिछानेले यो वर्षको एईईमा आफ्नो विद्यालयका विद्यार्थी देशभरका सामुदायिक विद्यालयमध्येबाट धेरै रहेको दाबी गरे ।
शान्ति माविमा ६ हजार २६४ विद्यार्थी अध्ययनरत छन् । त्यस्तै बुटवलको कान्ति माविबाट साधारणतर्फ ५९६ रहेका छन् ।
कान्तिबाट साधारण र खुलागरी ६२० जना विद्यार्थीले एसईई दिएका छन् । त्यस्तै बुटवलको कालिका मानवज्ञान माविबाट ५७६ जना विद्यार्थी सहभागी भएका छन् ।
कालिका विद्यार्थी संख्यामा देशको सबैभन्दा ठूलो विद्यालय हो । कालिका ८ हजार विद्यार्थी अध्ययनरत छन् ।
यस क्षेत्रमा पहिलो दिनको एसईई परीक्षा शान्तिपूर्ण भएको छ । लुम्बिनी प्रदेशबाट यो वर्षको एसईईमा ९४ हजार ९०८ विद्यार्थी सहभागी भएका छन् ।