
भारतको मुम्बईस्थित एक पारिवारिक अदालतले भारतीय क्रिकेटर युजवेन्द्र चहल र धनश्रीको सम्बन्ध विच्छेदलाई स्वीकृत गरेको छ । बार एण्ड बेन्चकाअनुसार सम्बन्ध विच्छेदपछि चहलले धनश्रीलाई ४.७५ करोड रुपैयाँ भत्ता तिर्नुपर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो रकम दुई किस्तामा तिर्नुपर्नेछ । चहलले धनश्रीलाई पहिले नै २.३७ करोड रुपैयाँ दिइसकेका छन्।
क्रिकेटर युजवेन्द्र चहल र धनश्रीले डिसेम्बर २०२० मा विवाह गरेका थिए, तर दुवै जुन २०२२ मा अलग भएका थिए । दुवै जना साढे दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। उनीहरूको अलग हुनुको कारण अझै खुल्न सकेको छैन ।
चहलका वकिल नितिन कुमार गुप्ताले भने, 'पारिवारिक अदालतले दुवै पक्षको संयुक्त निवेदन स्वीकार गरेको छ । अब उनीहरू दुवै पति-पत्नी रहेनन्।' युजवेन्द्र चहल र धनश्रीले फेब्रुअरी ५ मा आपसी सहमतिमा सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएका थिए ।
फैसला सुनाइँदा चहल र धनश्री अदालतमा उपस्थित थिए। एक दिनअघि बम्बई उच्च अदालतले चहलको निवेदनमा फैसला सुनाउन पारिवारिक अदालतलाई आदेश दिएको थियो ।
धनश्री वर्माले झलक दिखला जा-११ को एक एपिसोडको क्रममा युजवेन्द्र चहलसँगको आफ्नो प्रेमकथाबारे खुलासा गरेकी थिइन् । ११ डिसेम्बर २०२० मा विवाह गरेका उनीहरूको सम्बन्ध जुन २०२२ देखि नै बिग्रिएको थियो । दुवैले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेका थिए । चहलले धनश्रीसँगका सबै तस्बिरहरू पनि डिलिट गरेका थिए।