
यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये १२५ जना उपचारपछि घर फिर्ता भएका छन् ।
प्रदर्शनका घाइतेमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आकस्मिक शल्यक्रिया भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना, निजामती कर्मचारी अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र बी एण्ड बी अस्पतालमा एक/एक जना गरी पाँच जना हाल उपचाररत छन् । बाँकी सबै उपचारपश्चात घर फिर्ता भएका मन्त्रालयले जनाएको छ ।
बुधबार नै गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलगायतको टोलीले उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले सबै अस्पतालले निःशुल्क उपचार व्यवस्थापन गरिरहेको उल्लेख गर्दै घाइतेको उपचार व्यवस्थापनमा लागेको सम्पूर्ण खर्च विवरण संलग्न राखी कागजातसहित मन्त्रालयमा सोधभर्नाका लागि पठाउन अनुरोध गरेको छ ।