
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । शुक्रबारबाट शुरू हुने संसद्को बजेट अधिवेशनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम प्रमुख दलका नेता र प्रतिपक्षी दलका नेता उपस्थित नहुने भएपछि स्थगित भएको हो ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड उपस्थति नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिए ।
‘प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षी दलका नेता अनिवार्य उपस्थिति हुनुपर्ने हो । प्रचण्डजीलाई हामीले हिजै पनि भनेका थियौं । तर उहाँ बैठकमा सहभागी नहुने हुनुभयो,’ बर्तौलाले लोकान्तरसँग भने, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी पनि आजको बैठकमा आउनहुन्न । यसैले प्रधानमन्त्रीले अर्को बैठकमा बोल्ने गरी शुक्रबारको सम्बोधन स्थगित गरिएको हो ।’
बजेट अधिवेशनको मुख्य तयारीको लागि शुक्रबार दिउँसो १ बजेबाट अधिवेशन प्रारम्भ हुँदैछ ।
देउवा थाइल्याण्ड भ्रमणबाट आजै स्वदेश फर्किँदैछन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
यो अधिवेशनमा शिक्षा विधेयक पास गर्नुपर्ने दबाबसमेत रहेको छ ।