
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक एवं पञ्चायतकालीन मन्त्री नवराज सुवेदीले राजावादीहरू एक भएको दाबी गरेका छन् ।
राप्रपा नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सुवेदीले राजावादी र हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरू एक भएको बताएका हुन् ।
‘आपसमै मिल्नुहुन्न, कसरी राजा, धर्म फर्काएर ल्याउनुहुन्छ भनेका थिए, मैले हामी एक हुन्छौं भनेको थिएँ’, सुवेदीले भने, ‘राजावादी र हिन्दू राष्ट्र बनाउन चाहने एक भएका छौं ।’
राजावादी शक्तिहरूलाई एउटै मञ्चमा ल्याएर कमल थापाले प्रशंसनीय काम गरेको उनले बताए ।
‘राजसंस्थाको पुनर्स्थापना लागि र जनताको घाँडोको रूपमा रहेको संघीयता हटाउन हामी सबै एकजुट भएर उठौं’, सुवेदीले भने ।
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक आन्दोलनका कारण नजरबन्दमा परेका सुवेदी नजरबन्दमुक्त भएपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखिएका हुन् ।