
सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न सरकारसँग माग गरे । 'सडक निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाइ भएको छ,' सांसद सिंहले भने ।
यस्तै सांसद प्रभु साहले सरकारी बजेट प्रयोग गर्ने प्रतिष्ठान र सङ्घ संस्थााई कानूनी दायरामा ल्याउनुपर्ने बताए । केही सङ्घ संस्था र प्रतिष्ठान पार्टीगत र व्यक्तिगत स्वार्थमा प्रयोग भएकामा उनले आपत्ति व्यक्त गरे ।
सांसदहरू देवप्रसाद तिमिल्सिना, दामोदर पौडेल र जावेदा खातुनले आन्दोलनरत शिक्षकहरूका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद नागिना यादवले तराई मधेशमा नाला निर्माणका क्रममा स्थानीयको घर भत्काउने काम भइरहेको उल्लेख गर्दै अदालतको आदेशलाई समेत स्थानीय प्रशासनले अटेर गरेको आरोप लगाए ।