
पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लीन छन् । ६ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका हुन् ।
राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचेजस्तो राम्रो नभएपछि नेपाल फर्किए । उनी नेपाल आएर मौरीपालन व्यवसायमा लागेका हुन् । उनले करिब २५ घारबाट शुरू गरेको मौरीपालन व्यवसाय अहिले १३५ घार पुर्याएका छन् । विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उनले यो व्यवसाय शुरू गरेको बताए ।
‘अहिले पनि कहिलेकाहीँ कमाउनका लागि विदेश जाउँ कि भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय शुरू गरेको हुँ’, उनले भने ।
परिवारले सामान्य रूपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उनले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उनले मौरीपालन व्यवसाय शुरू गरेका हुन् । उनले भने, ‘नेपालमा केही गर्न सकिन्छ भन्ने युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ ।’
मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उनले बताए । चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उनको भनाइ छ ।
आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न शुरू गरेका मुक्तानले अहिले वार्षिक एक हजार ९५० किलो मह उत्पादन गर्दै आएका छन् । घारलाई बढाएर १५० पुर्याउने योजना उनको रहेको छ ।
शुरूआतमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश भएका मुक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २० घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रम अन्तर्गत ९० घार सहयोग गरेपछि उनले मौरीपालन व्यवसायलाई अझै प्रभावकारी रूपमा अघि बढाएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फर्किएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रम अन्तर्गत युवाहरूलाई समेटिएको बताए ।