२७ जेठ २०८३, बुधबार
भन्सार नाकाको कहालीलाग्दो अवस्था

नेपालका भन्सार नाका : अर्बौंको आयात हुँदा वर्षौंदेखि किन शून्य छ निर्यात ?

बैशाख २२, २०८२
काठमाडौं
नेपालका भन्सार नाका : अर्बौंको आयात हुँदा वर्षौंदेखि किन शून्य छ निर्यात ?

करिब तीन वर्षअघि (आर्थिक वर्ष २०७९/८०) सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहले २२ करोड ६३ लाख ९३ हजार रूपैयाँ बराबरको वस्तु आयात गर्दा ३३ लाख ८ हजार रूपैयाँको निर्यात गर्‍यो ।

त्यसपछि आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म उक्त बन्दरगाहबाट एक रूपैयाँको पनि वस्तु निर्यात भएको छैन । केवल आयात मात्रै धमाधम बढिरहेको छ ।

हालसम्म सुक्खा बन्दरगाहबाट निर्यात शून्य रहेको चोभार सुक्खा बन्दरगाह भन्सारकी प्रमुख उषा पोखरेल बताउँछिन् । बन्दरगाह सञ्चालनमा आएको समय धेरै नभएकाले निर्यात शून्य नरहेको उनको भनाइ छ ।
 
‘सञ्चालनमा आएको धेरै समय भएको छैन । हालसम्म निर्यात शून्य जस्तै छ’, उनले भनिन्, ‘पहिलेदेखि निश्चित नाकाबाट निर्यात गर्दै आएकाहरू यहाँ सिफ्ट हुन समय लाग्छ । जुन स्वाभाविक हो ।’

तीन वर्षअघि मात्रै सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाह भन्सार मात्र होइन वर्षौंदेखि केही पनि निर्यात नगर्ने, आयात मात्रै गर्ने भन्सार नाकाहरू थुप्रै छन् । 

सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ८५ लाख १५ हजार रूपैयाँ बराबरको वस्तु आयात गरिँदा निर्यात भने केही भएको थिएन । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक हेर्दा ३४ अर्ब १४ करोड ३ लाख ६५ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको छ भने, निर्यात केही पनि भएको छैन । निर्यात शून्य छ । 

सबै वस्तु निर्यात गर्नका लागि पूर्वाधार भएको तर, निर्यात शून्य अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख कमल कुमार भट्टराई बताउँछन् । उनका अनुसार वर्षौंदेखि तातोपानी नाकाबाट निर्यात केही पनि भएको छैन । निर्यातका लागि कुनै पनि रोकटोक र बाधा अवरोध छैन, तर चिनियाँ पक्षबाट मालसामान खरिद नहुँदा शून्य निर्यातको अवस्था छ । 

‘भन्सार कार्यालयबाट कुनै पनि बाधा अवरोध छैन । पूर्वाधारहरू पनि पर्याप्त छन् । जसरी आयात भइरहेको छ । त्यसरी नै निर्यात गर्न सकिन्छ’, उनले भने, ‘तर, चीनले पनि खरिद गरिदिनुपर्‍यो । स- सानो मालसामान हवाई मार्गबाट जान्छ । ठूलो मात्रामा चीनतर्फको निर्यात नभएकोले शून्य निर्यातको स्थिति आएको हुनसक्छ ।’

null

अर्को नाका हो, झापाको भद्रपुर भन्सार कार्यालय । यस भन्सारको निर्यात पनि वर्षौंदेखि शून्य छ । अहिलेसम्म यस नाकाबाट कुनै पनि वस्तु निर्यात भएको छैन । 

भारततर्फ निर्यातका लागि पूर्वाधार तयार नभएकोले गर्दा निर्यात हुन नसकेको भद्रपुर भन्सार कार्यालयका प्रमुख अर्जुन प्रसाद सिटौलाले जानकारी दिए । भारतीय पक्षसँग कुरा भइसकेको र छिट्टै निर्यातका लागि पूर्वाधार तयार हुने उनको भनाइ छ । 

‘यस नाकाबाट निर्यात शून्य अवस्थामा नै छ । खासमा भारतर्फ निर्यातका लागि केही तयारी रहेको छैन । अहिले पछिल्लो समय भारतीय भन्सार पक्षसँग कुरा गरेका छौं’, उनले भने, ‘केही समयमा त्यहाँको पूर्वाधार तयार भएपछि निर्यात गर्ने तयारी गर्नेछौं । हाम्रो पक्ष पहिलेदेखि तयार छ । भारतबाट पनि अब एसिस्ट गर्छौं भन्ने कुरा आएको छ ।’ 

वर्षौंदेखि नेपालका जलेश्वर भन्सार कार्यालय, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, सुठौली भन्सार कार्यालय (कपिलवस्तु), जनकपुर भन्सार कार्यालय, भद्रपुर भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, राजविराज भन्सार कार्यालय, गौर, ठाँडी भन्सार कार्यालय, सत्ति भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट निर्यात शून्य रहेको देखिन्छ ।

भन्सार कार्यालयको अवस्था 
आर्थिक वर्ष २०७५/७६ मा जलेश्वर, सुठौली, जनकपुर, भद्रपुर, महेशपुर, राजविराज, ठाँडी, सत्ति भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात गरिएको छैन । तर, यस वर्षमा आयात भने १९ अर्ब ४० करोड ९२ लाख ९१ हजार रूपैयाँ बढीको भएको छ । 

आर्थिक वर्ष २०७६/७७ मा भद्रपुर, जलेश्वर, जनकपुर, सर्लाही, महेशपुर, सत्ति, सिराहा, तातोपानी भन्सार कार्यालय र ठाँडी भन्सार कार्यालय गरी ९ वटा नाकाबाट केही पनि निर्यात भएन । तर, यी ९ वटै  भन्सारबाट ९० करोड ६२ लाख १३ हजार रूपैयाँको वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ । 

आर्थिक वर्ष २०७७/७८ मा भद्रपुर, जलेश्वर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सिराहा, सुनसरी, तातोपानी र ठाँडी भन्सार कार्यालयबाट शून्य निर्यात छ । तर,यस वर्षमा ४१ अर्ब १३ करोड ३१ लाख ४१ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको छ । 

null

आर्थिक वर्ष २०७८/७९ मा आठ वटा भन्सार कार्यालयहरूमा निर्यातको खडेरी नै लाग्यो । यस आर्थिक वर्षभरी भद्रपुर, गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, जनकपुर भन्सार कार्यालय, राजविराज, रसुवा, तातोपानी र ठाँडी भन्सार कार्यालयहरूबाट एक रूपैयाँको पनि निर्यात भएन । तर, नेपालबाट निर्यात नभए पनि ४४ अर्ब १८ करोड ८८ लाख ७ हजार रूपैयाँ बराबरको आयात यी भन्सार कार्यालयबाट मात्रै भएको देखिन्छ । 

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा भद्रपुर, गौर, गौतम बुद्ध विमानस्थल, जनकपुर, महेशपुर, रसुवा, राजविराज, सिराहा, सुनसरी, तातोपानी, सत्ति र ठाँडी भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात गरिएको छैन । यस आर्थिक वर्षमा यी १२ नाकाबाट ४ अर्ब ३२ करोड ४० लाख ८६ हजार रूपैयाँ बराबरको वस्तु आयात भएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा १० वटा नाकाहरूबाट केही पनि निकासी भएको छैन । चोभार सुख्खा बन्दरगाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, भद्रपुर, सुठौली भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय, ठाँडी भन्सार कार्यालय र त्रिवेणी भन्सार कार्यालयबाट केही पनि निर्यात भएको छैन । तर, यी भन्सारबाट ४२ अर्ब १२ करोड २७ लाख १८ हजार रूपैयाँ बराबरको आयात भने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्