२७ जेठ २०८३, बुधबार

लुम्बिनी प्रदेशको बजेट अधिवेशन शुरू

बैशाख ३१, २०८२
बुटवल
लुम्बिनी प्रदेशको बजेट अधिवेशन शुरू

लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधबारदेखि शुरू भएको छ । बैठकमा संसदीय दलका प्रमुखहरूले अधिवेशन सफलताको शुभकामनासहित समसामयिक विषयमा धारणा राखेका थिए ।

एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले वर्तमान सरकारले समयमा अधिवेशन आह्वान गरेको उल्लेख गरे । उनले नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्न पर्याप्त समय भएको धारणा राखे । यो अधिवेशनलाई अवसरको रूपमा लिनुपर्ने बताउँदै सरकार पुँजीगत खर्चमा ध्यान दिँदै अघि बढेको उल्लेख गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले यथार्थपरक बजेट ल्याउन सुझाव दिइन् । चालू वर्षमा घाटाको बजेट देखिएको भन्दै अनुमानभन्दा वास्तविक अवस्था झल्किने बजेट ल्याउन आग्रह गरिन् ।

मातृ मृत्युदर, बाल मृत्युदर र कुपोषण बढ्दो अवस्थामा रहेकाले आगामी नीति तथा कार्यक्रम तथा बजेटले ती कुराहरूलाई समेट्नुपर्नेमा उनले जोड दिइन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारूले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने धारणा राखे । सरकार प्रमुखले नीति तथा कार्यक्रम ल्याउने तर आर्थिक मामिलामन्त्रीले तालमेल नमिलाएर बजेट ल्याउने खतरा देखिएको बताउँदै प्रदेशको आर्थिक सर्वेक्षणमा आधारित नीति तथा कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए ।

जनमत पार्टी संसदीय दलका नेता चन्द्रकेश गुप्ताले किसानको समस्या समाधान गर्न प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । कार्यान्वयन गर्न सकिने नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिँदै प्रहरीको सेवा सुविधा सुधारतर्फ पनि ध्यानाकर्षण गराए । सदनमा उठेका आवाजहरूको जवाफ समयमै आउनुपर्ने धारणा उनको छ ।

लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयले संघीय सरकारसँग समन्वय गरी बजेटको आकार बढाउन सकिने बताए ।

प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठले लुम्बिनी प्रदेशको समग्र विकासमा प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

प्रदेशसभाको अर्को बैठक जेठ १ गते बिहीबार बस्नेछ।

salt training

कमेन्ट गर्नुहोस्