२६ जेठ २०८३, मंगलबार

भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सांसद बस्नेतकाे पद स्वतः निलम्बन

जेठ १, २०८२
काठमाडौं
भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सांसद बस्नेतकाे पद स्वतः निलम्बन

‘टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएपछि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद स्वतः निलम्बनमा परेको छ ।

२०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामक्स घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो ।

संसद् सचिवालयका सहसचिव (कानून) लक्ष्मीप्रसाद गौतमले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार भ्रष्टाचार मुद्दा लागेपछि सांसद पद स्वतः निलम्बन हुने जानकारी दिए । ‘अहिलेको भ्रष्टाचार निवारण २०५९ अनुसार अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि कुनै पनि सांसदको पद स्वतः निलम्बन हुन्छ,’ गौतमले लोकान्तरसँग भने, ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार निवारणका विषयमा सांसद पद स्वतः निलम्बन हुने प्रावधान हो ।’

रास्वपाका सांसद रवि लामिछानेको सांसद पद पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा स्वतः निलम्बनमा परेको उनले जानकारी दिए ।

बस्नेत २०७९ को चुनावमा सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । 

अख्तियारले बस्नेतविरुद्ध ३ अर्ब २१ करोड बिगो दाबी गरेको छ । बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 

सांसद सदस्यमाथि मुद्दा लागेपछि अब अख्तियारले संसद् सचिवालयलाई पत्रमार्फत जानकारी गराउनेछ । त्यसपछि संसद्को बैठकमा सभामुखले सांसद बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाउनेछन् ।

अख्तियारले सांसद बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । 

प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा र दीपेश आचार्य एवं उपनिर्देशक सन्दीप अधिकारी, परामर्शदाता कम्पनीका प्रमुख कार्यकारी अधिकृत जमल अनौती, सोही कम्पनीका स्थानीय प्रतिनिधि दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलविरुद्धसमेत मुद्दा दायर भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

आयोगले तत्कालीन सञ्चारमन्त्री बस्नेत आरोपी सबै जनाविरुद्ध जनही तीन अर्ब २१ करोड, ८३ लाख, ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्