
काठमाडौंको वनस्थलीस्थित पार्किङ स्थलबाट इलेक्ट्रोनिक माइक्रोबस चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१६, वनस्थलीमा बस्दै आएका १९ वर्षीय सुदीप थापा छन् । उनले बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको माइक्रोबस चोरी गरेर धादिङ पुर्याएका प्रहरीको दाबी छ ।
घटना गत वैशाख २९ गते बिहानको हो । उक्त गाडी वनस्थली स्थित विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरको पार्किङबाट चोरी भएको थियो। थापाले उक्त सवारी गाडी चलाएरै धादिङसम्म पुर्याएका थिए।
परिसरका सूचना अधिकारी अपिलराज बोहराका अनुसार धादिङ प्रहरीको समन्वयमा उनलाई सवारीसहित नियन्त्रणमा लिइएको हो ।
अहिले चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।