
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीशद्वय डा. कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई रिहाइ गर्न आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले लोकान्तरलाई जानकारी दिए ।
राजावादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनकै दिन बेलुका मिश्र पक्राउ परेका थिए । उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । सर्वोच्चको आदेशसँगै अब उनी हिरासतमुक्त हुनेछन् । उनलाई हाजिरी जमानीमा छाड्न आदेश भएको छ ।
मिश्रमाथि राज्य विरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मुद्दामा प्रहरीले अनुसन्धान चलिरहेको थियो ।
पछिल्लोपटक वैशाख ३० गते काठमाडौं जिल्ला अदालतले मिश्रसहितलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
आफूलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै मिश्रले श्रीमती सारिका कार्की मिश्रमार्फत् सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले यो रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश दिएको थियो ।
रवीन्द्रलाई बिहीबार पनि अदालतमा उपस्थित गराइएको थियो ।
