
अस्ट्रियाको ग्राजस्थित एक माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ । यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो गोलीकाण्डको घटना भनिएको छ।
घटनापछि अस्ट्रियामा तीन दिने शोक घोषणा गरिएको बीबीसीले जनाएको छ । पीडितहरूलाई श्रद्धाञ्जली दिन बुधबार स्थानीय समयअनुसार बिहान १० बजे देशभर एक मिनेट मौन धारण गरिनेछ ।
ग्राज आक्रमणमा कुल दश जनाको मृत्यु भएको थियो र अन्तमा बन्दुकधारीले स्कूलको शौचालयमा आफैंलाई पनि गोली हानेको थियो । यसले यस घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
प्रहरीले बन्दुकधारी विद्यालयको पूर्वविद्यार्थी भएको बताएको छ। उनी लगभग २१ वर्षका थिए। उनले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेको समाचारमा उल्लेख छ । आक्रमणमा छ जना महिला र तीन जना पुरुष मारिएका छन्। प्रहरीका अनुसार यस घटनामा १२ जना अन्य घाइते भएका छन्, जसमध्ये केही गम्भीर घाइते छन्।
आक्रमण भएको विद्यालय अर्को सूचना नभएसम्म बन्द गरिएको छ ।