
गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको अहमदाबाद जहाज दुर्घटनामा मृत्यु भएको छ ।
लन्डनका लागि उडेको एअर इन्डिया विमान बिहीबार दिउँसो अहमदाबाद विमानस्थलबाट उडेको केही क्षणमै दुर्घटनाग्रस्त हुँदा रुपानीको ज्यान गएको भारत सरकारका मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् ।
‘विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचानका लागि डीएनए नमूना संकलन गर्ने व्यवस्था अहमदाबाद सिभिल अस्पतालमा मिलाइएको छ । ज्यान गुमाएका व्यक्तिका बाबु–आमा वा छोराछोरीजस्ता नजिकका आफन्तहरूले अहमदाबाद सिभिल अस्पतालको बीजे मेडिकल कलेज अन्तर्गतको ‘कसोटी भवन’मा पुगेर डीएनए परीक्षणका लागि नमूना दिन सक्नेछन्’, राज्य स्वास्थ्य विभागका प्रमुख सचिव धनञ्जय द्विवेदीले भनेका छन् ।
नागरिक उड्डयन महानिर्देशालयको विज्ञप्तिअनुसार २४२ जना यात्रु र चालक दलका सदस्य बोकेको एअर इन्डिया विमान अहमदाबादबाट लन्डन उड्ने क्रममा उडेको केही क्षणमै दुर्घटनामा परेको हो ।
विमानका पाइलटले उडानको क्रममा अहमदाबादको हवाई यातायात नियन्त्रण कक्षलाई ‘मे–डे’ कल (आपत्कालीन संकेत) पठाएका थिए ।