
‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
गएाति भएको भेटमा महासचिव गुटेरेसले नेपालले हालै सगरमाथा संवाद कार्यक्रमको सफल आयोजना गरेकामा बधाई दिए । ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सकारात्मक परिणाम सृजनामा नेपालले सक्रिय भूमिका खेलेको उनले बताए ।
उनले विश्वमा शान्ति स्थापनार्थ नेपालले राष्ट्रसङ्घीय शान्ति मिसनमा दिएको योगदानको उच्च मूल्याङ्कनका साथै नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गो लगाउन लागेकामा खुसी व्यक्त गरेको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए।
महासचिव गुटेरेसले नेपालको विकासमा राष्ट्रसङ्घको निरन्तर साथ र सहयोग रहने पनि विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले हिजै सम्मेलनलाई सम्बोधन गरेका थिए ।
त्यसपछि उनी स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।