२६ जेठ २०८३, मंगलबार

ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउने

असार १८, २०८२
काठमाडौं
ललितपुर महानगरले वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउने

ललितपुर महानगरपालिकाले वडैपिच्छे विपद् स्वयंसेवक समूह बनाउने भएको छ । सशस्त्र प्रहरी बलले महानगरसँग समन्वयगरी आयोजना गरेको समुदाय विपद् स्वयंसेवक तालिमको समापन समारोहमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले आगामी आर्थिक वर्षमा महानगरको सबै वडामा विपद् व्यवस्थापनबारे ज्ञान र सीप भएको स्वयंसेवकको समूह बनाउने बताएका हुन् । 

‘३० –३५ जनाको समूह बनाउँछौं, उहाँहरूलाई तालिम दिन्छौं,’ उनले भने । तालिम प्राप्त स्वयंसेवक समूहले विपद्‌बारे ज्ञान बाँड्ने र उद्धारको काममा खटिने उनले बताए । 

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको कर्तव्य नगरवासीको सुरक्षा गर्नु भएको बताए । विपद् व्यवस्थापनको क्षेत्रमा महानगरले धेरै काम गरेजस्तो लागे पनि गत असोज दोस्रो साताको बाढीले धेरै काम गर्न बाँकी देखाएको उनको भनाइ थियो । ‘हामीले ४ वटा डुंगा किन्यौँ , अब १ वटा थप्दैछौं,' उनले भने । 

ललितपुर जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेश ढकालले समुदायलाई विपद्का बारेमा ज्ञान र सीप सिकाउनु महत्वपूर्ण भएको बताउँदै सिकेका कुरालाई भविष्यमा हुनसक्ने विपद्का बेलामा प्रस्तुत गर्नु महत्वपूर्ण भएको बताए । 

नेपाली सेना राजदल गण लगनखेलका गणपति प्रमुख सेनानी स्वर्ण बहादुर चन्दले समुदायसँग जोडिएर विपद्बारे जान दिएर स्वयंसेवक तयार पार्नु भविष्यमा आइपर्नसक्ने विपद्को पूर्वतयारी भएको बताए । 

ललितपुर महानगरसँगको समन्वयमा सशस्त्र प्रहरी बलले २८ जना स्वयंसेवकहरूलाई १८ दिने तालिम दिएको हो । तालिममा प्रशिक्षार्थीहरूलाई विपद्को परिचय, नेपालमा हुन सक्ने विपदका घटना, सरोकारवाला निकाययसँग गरिने समन्वय, भत्केका संरचनामा गरिने खोज तथा उद्धार, जलोत्पन्न विपद्, त्यसमा गरिने उद्धार, डोरीबाट गरिने उद्धारलगायतका विषयमा तालिम दिइएको थियो ।

यसैगरी महानगर प्रहरीलाई  उक्त गणले नगरप्रहरीलाई पनि विपद् उद्धारसम्बन्धी पेशागत तालिम दिइएको थियो । उक्त तालिममा २४ जना नगर प्रहरी सहभागी थिए ।

उनीहरूलाई ‘र्‍याफ्ट वोट ह्याण्डलिङ’ तथा वाटर रेस्क्यू तालिम दिइएको थियो । कार्यक्रममा तालिमप्राप्त प्रशिक्षार्थीले आगलागी नियन्त्रण गर्दाको डेमो, नदीमा डुबेकाको उद्धार, भारी वर्षाका कारण नदीमा आएको बाढीले उद्धारमा अवरोध भएपछि डोरीको माध्यमबाट गरिएको उद्धार र बाढी प्रभावितको उद्धार गर्न जाँदा नदीमा पल्टिएको डुङामा सवारको उद्धारको डेमो प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्