२७ जेठ २०८३, बुधबार

कर्णाली नदीमा बच्चा हुर्काउँदै घडियाल गोही र डल्फिन

असार ३१, २०८२
कैलाली
कर्णाली नदीमा बच्चा हुर्काउँदै घडियाल गोही र डल्फिन

कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुकाइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् । 

सहायक पथरैया र मोहना नदीमा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए । नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको हो । प्राकृतिक रूपमा बिनाकुनै लगानी घडियालको बच्चा हुर्काइरहेको छ । 

विगत चार वर्षदेखि घडियाल गोहीले सो क्षेत्रमा बच्चा कोरल्ने गरेको ढुङ्गानाले बताए । मोहना, पथरैया र कर्णाली तीनवटै नदीमा घडियालले यस वर्ष बच्चा कोरलेका थिए। 

घडियालसँगै सो क्षेत्रमा डल्फिनको पनि बच्चा हुर्काइरहेका छन् । डल्फिन विश्वमै दुर्लभ जलप्राणी मानिन्छन्। यसलाई अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले रातो सूचीमा राखेको छ। वर्षायामको समयमा कर्णाली नदीलगायत सहायक नदीमा डल्फिन बच्चासँगै देखिने गरेको संरक्षणकर्मी ढुङ्गानाले बताए । 

'शुरूमा आएका वयस्क डल्फिनसँग अचेल स–साना बच्चा पनि देखा परिरहेका छन् । कम्तीमा पनि दुई–तीन दिनमा छ–सात वटा बच्चा वयस्क माउसँग देखा परिरहेका छन् । अहिले देखा परिरहेका बच्चालाई डल्फिनले मोहना नदीमा जन्माएका हुन्,' उनले भने । 

डल्फिन बच्चा जन्माउने स्तनधारीभित्र पर्दछन्। स्वच्छ पानीमा बस्न रुचाउने डल्फिन बच्चा हुर्काउन कैलालीको कर्णालीसहित सहायक नदीमा आउने गर्दछन् । भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । 'तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन्,' उनले भने । 

यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षा याममा डल्फिन आउँछन् । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने श्रेष्ठको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्