२६ जेठ २०८३, मंगलबार

लम्पीस्किनबाट एक सातामै कोशीमा १३९ पशु मरे, अधिकांश गाईका बाच्छाबाच्छी

असार ३१, २०८२
विराटनगर
लम्पीस्किनबाट एक सातामै कोशीमा १३९ पशु मरे, अधिकांश गाईका बाच्छाबाच्छी
फाइल तस्वीर

पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोशी प्रदेशमा एक हप्तामै १३९ पशु मरेका छन् । मर्नेमा गाईको संख्या बढी छ ।  एक सातामा १३६ वटा गाई मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जानकारी दिएको छ । तीनवटा अन्य पशु परेका हुन् ।

लम्पीस्किनबाट यसपटक गाईका साना बाछाबाछीहरू बढी प्रभावित भएको निर्देशनालयले जनाएको छ । यस वर्ष संक्रमण शुरू भएपछि ३३६ पशु मरेका छन् । त्यसमध्ये ३३० ओटा गाई हुन् ।

यो हप्तामात्र कोशी प्रदेशका १० जिल्लामा ३ हजार ७७८ पशुमा लम्पीस्किनको संक्रमण देखिएको छ । संक्रमण शुरू भएको दुई महिनाको अवधिमा १६ हजार ५१९ पशु संक्रमित भइसकेका छन् । जसमा १३६ ओटा भैंसीमा संक्रमण देखिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका निर्देशक डा. सुशिलकुमार अधिकारीले जानकारी दिए । उनले माउ गाईमा भने यस पटकको संक्रमण कम देखिएको र बाछाबाछीमा बढी संक्रमण देखिएको बताए ।

सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा र तेह्रथुममा लम्पीस्किनको संक्रमण फेला परेको छैन । बाँकी १० जिल्लामा रोगका संक्रमण फैलिएको छ । त्यसमध्ये झापामा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

झापा जिल्लामा ४ हजार २४ पशुमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यसमध्ये ३ हजार ९९९ गाई र २५ भैंसी छन् । झापामा यस रोगका कारण ११२ पशुको मृत्यु भएको छ । जसमा १०५ गाई र ७ भैंसी छन् । संक्रमण नियन्त्रणका लागि झापामा ८ हजार ३८५ पशुमा खोप लगाइएको छ ।

सुनसरीमा ४ हजार संक्रमित पशु छन् । यसमध्ये ३ हजार ९८४ गाई र १६ भैंसी छन् । सुनसरीमा ७१ पशुको मृत्यु भएको छ, जसमा ६८ गाई र ३ भैंसी छन् । सुनसरीका ११ हजार ४८१ पशुमा खोप लगाइएको छ ।

मोरङमा ३ हजार ७१६ पशुमा संक्रमण देखिएको छ । जसमध्ये ३ हजार ७०४ गाई र १२ भैंसी छन् । मोरङमा ६४ पशुको मृत्यु भएको छ, जसमा ६३ गाई र एउटा भैंसी रहेको छ । मोरङमा११ हजार ६०४ पशुमा खोप लगाइएको छ ।

न्यूनतम संक्रमण भएका जिल्लामा उदयपुरमा ४२५ पशुमा संक्रमण देखिएको छ । यसमध्ये ४१० गाई र १५ भैंसी छन् । उदयपुरमा ८ पशुको मृत्यु भएको छ र ४ हजार ४४७ पशुमा खोप लगाइएको छ ।

इलाममा ३९६ पशुमा संक्रमण देखिएको छ, जसमा ३८१ गाई र १५ भैंसी छन् । इलाममा ५ पशुको मृत्यु भएको छ भने ५ हजार ३७६ पशुमा खोप लगाइएको छ ।

भोजपुरमा ३७६ पशुमा संक्रमण देखिएको छ, जसमध्ये ३७५ गाई र एउटा भैंसीमा संक्रमण भेटिएको छ । भोजपुरमा ७ पशुको मृत्यु भएको छ र ३ हजार २५७ पशुमा खोप लगाइएको छ ।

एक सातामा ५६ हजार ७१ पशुमा लम्पीस्किनविरुद्ध खोप लगाएर रोगको संक्रमण नियन्त्रण गर्ने प्रयत्न सरकारले गरेको छ । यस वर्ष कोशी प्रदेशका २ लाख ६२ हजार ६०९ पशुमा खोप लगाइएको निर्देशक अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्