
काठमाडौं गुर्खाज र वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडबीच दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि शीर्ष प्रायोजन सम्झौता भएको छ ।
नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंकले दोस्रो सिजनको एनपीएलका लागि काठमाडौं गुर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक बन्ने जानकारी दिएको हो ।
सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल र काठमाडौं गुर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा अग्रवालले भने, 'हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उमेर समूहका मानिसलाई जोडेको छ । हामी वर्ल्डलिंकले लामो समयदेखि ग्रासरुट तहमा क्रिकेटको समर्थन गर्दै आएका छौं । अब काठमाडौं गुर्खाजमार्फत हामीले त्यो साथ अझ व्यावसायिक तहमा विस्तार गर्ने अवसर पाएका छौं । वित्तीय पक्षभन्दा पनि महत्त्वपूर्ण कुरा भनेको हामीजस्ता कम्पनीहरू नेपाल प्रिमियर लिगजस्ता लिगहरूसँग जोडिनु हो। खेलको दीर्घकालीन प्रगतिको लागि यस्ता सहकार्यहरू आवश्यक छन्।'
काठमाडौं गुर्खाजका कार्यकारी निर्देशक सिरोहियाले कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुने बताए । 'कुनै पनि लिगको सफलता ठूला कम्पनीहरूको सहभागितासँग जोडिएको हुन्छ। हामीलाई खुशी लाग्छ कि वर्ल्डलिंकजस्तो प्रतिष्ठित ब्रान्ड अब हाम्रो टोलीमार्फत नेपाल प्रिमियर लिगसँग जोडिएको छ। यस साझेदारीसँगै हामीले प्रतियोगितामा नयाँ लक्ष्यहरू तय गरेका छौं र तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।'
आगामी सिजनका लागि काठमाडौं गुर्खाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ।
साथै, टोलीले करण केसी (मार्की खेलाडी)सहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको छ।
काठमाडौं गुर्खाज र वर्ल्डलिंक कम्युनिकेसन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्याउने विश्वास गरिएको छ । साथै निजी क्षेत्रको सहभागिताबाट राष्ट्रिय खेलको दिगो विकासमा टेवा पुर्याउनेछ ।