
घुस काण्डमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने युवराज पौडेल ‘सफल’ले बिहीबार प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
कास्की मालपोत कार्यालयमा कर्मचारी सरुवामा ३२ लाख घुस लिएको दाबीसहित सफलले उजुरी दर्ता गराएका हुन् ।
घुस प्रकरणले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजीनामा गरेका राजकुमार गुप्ताले अधिकारीलाई पोलेका थिए । गुप्ताले मंगलबार राजीनामा दिएका थिए ।
मन्त्री अधिकारीले आफूले घुस नलिएको दाबी गर्दै आएका छन् ।
विवादमा तानिएका मन्त्री अधिकारीले एक वर्षको उपलब्धि सार्वजनिक गर्न बिहीबार नै पत्रकार सम्मेलन राखेका छन् ।
