
प्रवेशिका परीक्षा समूह-२०२५ धरानको ‘विद्यालोक धरान’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा विशेष कार्यक्रमगरी कृतिको लोकार्पण गरिएको हो ।
धरान पब्लिक हाइस्कुलका अध्यक्ष एवं सामाजिक अभियन्ता हरिबहादुर कार्कीको सभापतित्व र विशिष्ठ गीतकार एवं साहित्यकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कृतिको लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि, सभापतिसँगै समाजसेवी सुरेशकुमार शर्मा, प्राडा. माधवप्रसाद पोख्रेल, सुरेशकुमार वर्मा, हरिहर दाहाल, प्राडा.कृष्णप्रसाद दाहाल, प्राडा.सजिता बर्मा, प्राडा.सुरेन्द्र केसी, भुपेन्द्र कार्की, खेमनाथ दाहाल, रामप्रसाद श्रेष्ठलगायतले कृति लोकार्पण गरेका थिए ।
गीतकार एवं चलचित्रकर्मी गणेश सुवेदीले सहजीकरण गरेको समारोहको एनिमेटेड ब्यानर प्रमुख अतिथिबाट स्विच अन गरेर समुद्घाटन गरिएको थियो । ‘विद्यालोक धरान’ प्रकाशन व्यवस्था समितिका संयोजक भुपेन्द्र कार्कीले स्वागत मन्तव्य राख्दै कृति प्रकाशनका विभिन्न चरणको जानकारी गराएका थिए । उनले कृतिको प्रकाशन धेरै साथीहरूको सहभागितामा पूरा भएको बताए ।
कृतिका प्रधान सम्पादक खेमनाथ दाहालले धरान पब्लिक हाइस्कुल विसं २०२५ सालका एसएलसी समूहका सकेसम्म सबैलाई समेटेर पुस्तकका रूपमा लोकार्पण गरिएको बताए । उनले कृति पठनमा सहजताका लागि पाँच खण्ड र एक परिशिष्टमा विभक्त गरिएको जानकारी गराए । उनले धरान आफैंमा शिवभूमि, पुण्यभूमि रहेको बताउँदै त्यहाँ जन्मिएर धरानसँग जोडिन पाउनु हरेक धरानका सन्ततिका लागि अहोभाग्य रहेको र अझ धरानमाथि आफूहरूले प्रकाश पार्ने मौका पाउनु महान् कर्म भएको जिकिर गरे ।
कृतिको समीक्षा प्राडा. कृष्णप्रसाद दाहाल र प्राडा. सजिता बर्माले गरेका थिए । प्राडा. कृष्णप्रसादले धरान ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहर रहेको बताउँदै कृति धरानबासीका साथै सबैका लागि संग्रहणीय रहेको चर्चा गरे। यस्तै प्राडा.बर्माले कृतिभित्र रहेका लेख रचनाका विषयमा आफ्ना भनाइ राख्दै यो कार्य स्तुत्य रहेको बताए ।
कार्यक्रममा यादव कार्की अमेरिका र नारायण कार्कीले अष्ट्रेलियाबाट भर्चुअल शुभकामना मन्तव्य राखेका थिए । प्राडा.सुरेन्द्र केसीले आफू धरानमा धेरै वर्ष विताएको बताउँदै यो समूहले गरेको कार्य निकै प्रसंशनीय रहेको बताए । उनले अन्यले पनि यस कार्यबाट पाठ सिक्नुपर्ने धारणा राखे।
यस्तै, प्रमुख अतिथि, अन्य अतिथिहरूले धरान र धरान पब्लिक हाइस्कुलका विषयमा चर्चा गर्दै एउटा इतिहास निर्माण गर्न सफल भएकोमा बधाई दिएका थिए । त्यस्तै, धरान पब्लिक हाइस्कुलका प्रधाध्यापक डा. इन्द्रमोहन झा, लोकप्रिय अभिनेत्री प्रियंका कार्की, धरानका निर्वतमान उपमेयर मञ्जु भण्डारी, अधिवक्ता देवीबहादुर घिमिरे, बलाराम न्यौपाने, रूकमनी मास्केलगायतले शुभकामना दिएका थिए । समारोहमा कृतिका सम्पादक रमेश दाहाललाई कदरपत्र पदान गरिएको थियो अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
समारोहमा प्रवेशिका परीक्षा समूह-२०२५ धरानका विद्यार्थीहरू डा. सरोज धिताल, महेश अग्रवाल, रामकुमार श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, आनन्द कार्कीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रकाशक भुपेन्द्र कार्की/नारायण कार्की (प्रवेशिका परीक्षा समूह-२०२५ धरान) रहेको ५३२ पृष्ठको यो कृति ६ खण्डमा विभाजन गरिएको छ । कृतिको पहिलो खण्डमा धरानको इतिहास (भौगोलिक, सांस्कृतिक, धार्मिक आदि), दोस्रो खण्डमा संस्मरण (विस्मृतिमा धरान र स्कुले जीवन), तेस्रो खण्डमा काव्य/रचना (कविता, कथा, निबन्ध आदि), चौथो खण्डमा हरिहरप्रसाद वर्मा विशेष (धरान पब्लिक हाइस्कुलका प्रधानाध्यापक स्व.हरिहर बर्माको स्मृतिलेखहरूको सँगालो), पाँचौँ खण्डमा परिचयखण्ड (प्रवेशिका परीक्षा समूह-२०२५ धरान) र छैटौं खण्डमा श्रद्धाञ्जलि (प्रवेशिका परीक्षा समूह-२०२५ धरानमा सम्मिलित दिवंगत विद्यार्थीहरू) समावेश गरिएको छ ।
साथै यस कृतिमा शैक्षिक विकासक्रमका ऐतिहासिक चिट्ठी-पत्र तथा प्रमाणपत्र, प्रवेशिका परीक्षा (टेष्टसहित) २०२५, धरान सम्मिलित विद्यार्थीहरूको नाम ठेगना र सम्पर्क नं., सहयोगी साथीहरू, हरिहरप्रसाद बर्मा (हेडसर)सँग सम्बन्धित तस्वीर र ऐतिहासिक धरान र समूहका विविध कार्यक्रम एवं ग्रन्थ निर्माण सन्दर्भका तस्वीरहरू यसमा समावेश गरिएको छ ।
एक हजार १०१ रुपैयाँ मूल्य राखिएको यो कृतिबाट संकलित रकमको अक्षयकोष खडा गरी यसबाट प्राप्त आम्दानी धरानका सार्वजनिक हाइस्कुलका मेधावी छात्रछात्रालाई छात्रवृतीका रुपमा प्रदान गरिने जनाइएको छ ।
कृति प्रकाशनको सल्लाहकारमा प्रडा. माधवप्रसाद पोख्रेल, सुरेशकुमार वार्मा र हरिहर दाहाल रहेका छन् । यस्तै, कृति प्रकाशन व्यवस्था समितिमा भुपेन्द्र कार्की र नारायण कार्की रहेका छन् ।