२६ जेठ २०८३, मंगलबार

चिनियाँ गुप्तचर जहाज जापानको निगरानीमा, बढ्यो क्षेत्रीय तनाव

साउन १९, २०८२
काठमाडौं
चिनियाँ गुप्तचर जहाज जापानको निगरानीमा, बढ्यो क्षेत्रीय तनाव

चिनियाँ जनमुक्ति सेना (पीएलए)को गुप्तचर जहाज जापानको दक्षिण-पश्चिमी टापुको बीचबाट अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै गएको देखेपछि जापान झस्किएको छ ।

गत मंगलवार भएको यो घटनापछि जापानले पनि आफ्नो युद्धपोत पठाएर त्यसको निगरानी गरेको हो । पूर्वी एसियामा चीन र अन्य देशबीच बढिरहेको तनावलाई यो घटनाले थप मलजल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पूर्वी एसियामा जापान र चीनबीचको तनाव निकै पहिलादेखिको हो ।

जापानको रक्षा मन्त्रालयका अनुसार चिनियाँ डोङदियाओ-श्रेणीको इलेक्ट्रोनिक निगरानी जहाज 'तियानलाङसिन' मंगलबार बिहान ६ बजे ओकिनावा प्रान्तको मियाको टापुबाट करिब ८० माइल टाढा पश्चिमतर्फ गइरहेको पुष्टि भएको थियो ।

उक्त जहाज मियाको स्ट्रेट हुँदै उत्तर-पश्चिम दिशातर्फ पूर्वी चीन सागरतर्फ अघि बढेको थियो । 'मियाको स्ट्रेट'ले ओकिनावाको मुख्य टापु र मियाको टापुलाई छुट्याउने भएकाले यसलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ ।

चिनियाँ गतिविधिको जवाफमा जापानको म्यारिटाइम सेल्फ-डिफेन्स फोर्सले फुबुकी-श्रेणीको डिस्ट्रोयर 'अमागिरी' पठाएर चिनियाँ जहाजको गतिविधिको निगरानी र जानकारी सङ्कलन गरेको न्यूजवीकले जनाएको छ ।

उक्त चिनियाँ जहाज यसअघि गत जुन १० मा पनि जापान नजिकैको ओसुमी स्ट्रेट हुँदै फिलिपिन सागरतर्फ गएको देखिएको थियो ।

यसैबीच, जापानले ताइवानको पूर्वी तटमा दुई पटक चिनियाँ मानवरहित हवाई साधन(यूएभी) र एक पीएलए वायुसेनाको वाई-९ विमान मियाको स्ट्रेट हुँदै उडेको पाइएको जनाएको छ ।

यी गतिविधिहरूको निगरानी गर्न जापानले लडाकु विमानहरू तैनाथ गरेको थियो ।

जापान 'फर्स्ट आइलन्ड चेन'को हिस्सा हो, जुन अमेरिकाले सम्भावित द्वन्द्वमा चिनियाँ सेनालाई नियन्त्रण गर्न रणनीतिक रूपमा महत्त्वपूर्ण मान्ने गरेको छ ।

यो क्षेत्रमा फिलिपिन्स र इन्डोनेसियाका केही भागहरू पनि समावेश छन् । चिनियाँ जहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालित भए पनि ओकिनावा प्रान्तको नजिकैको यसको उपस्थितिले जापान र चीनबीचको तनावलाई थप सघन बनाएको छ ।

सेन्काकु टापुहरूको क्षेत्रीय विवाद, चीनको सैन्य विस्तार र ताइवानप्रति उसको नीतिले यो तनावलाई थप जटिल बनाएको हो ।

जापानले हालै जारी गरेको डिफेन्स व्हाइटपेपर (श्वेतपत्र)ले सन् २०२१ देखि २०२४ सम्ममा ओकिनावा नजिकै चिनियाँ युद्धपोतहरूको गतिविधि तेब्बर भएको उल्लेख गरेको छ ।

यो श्वेतपत्रले क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिप्रति चिन्ता पनि व्यक्त गरेको छ । यद्यपि, बेइजिङले यो दस्तावेजले भ्रम फैल्याएको, गलत तथ्यलाई बढावा दिएको भन्दै आफ्नो रक्षा नीति रक्षात्मक प्रकृतिको भएको दाबी गरेको छ ।

जापानले अमेरिकालाई आफ्नो जलक्षेत्र र हवाई क्षेत्र नजिकैको चिनियाँ सैन्य गतिविधिहरूको निगरानी र सार्वजनिक जानकारी प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त क्षेत्रमा शक्ति सन्तुलन परिवर्तन हुने चिन्ताकै कारण अमेरिकाले जापानलाई अन्य क्षेत्रीय साझेदारहरूसँगको सम्बन्धलाई थप बलियो बनाउन र सन् २०२७ सम्ममा आफ्नो रक्षा खर्चलाई जीडीपीको २ प्रतिशतसम्म पुर्‍याउन आग्रह गर्दै आएको छ ।

यो घटनाले पूर्वी एसियामा रणनीतिक प्रतिस्पर्धा र सैन्य गतिविधिहरूको निरन्तर निगरानीको आवश्यकतालाई थप महत्त्व दिएको छ । दुवै पक्षले आफ्ना गतिविधिहरूलाई वैधानिक र रक्षात्मक भएको दाबी गरेपनि यस्ता घटनाहरूले क्षेत्रीय स्थिरतामा थप चुनौतीहरू थपिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्