
काठमाडौं, ८ पुस– संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा सुरक्षा परिषद्का सबै सदस्य राष्ट्र सहमत भएका छन् ।
पछिल्लो समय गरेको ब्यालेस्टिक मिसाइल परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्र संघले उत्तर कोरिया माथिको प्रतिबन्ध थप कडा बनाउने भएको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियामा हुँदै आएको तेल तथा पेट्रोलियम पदार्थको आयात कम गरिने छ ।
ब्यालेस्टिक मिसाइल परीक्षण तथा परमाणु कार्यक्रमका कारण उत्तर कोरियामाथि यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियन (ईयु) ले प्रतिबन्ध लगाउँदै आएका थिए । नयाँ प्रतिबन्ध अनुसार तेल तथा पेट्रोलको आयात कम गर्नुका साथै विदेशमा कार्यरत उत्तर कोरियाका कामदारलाई आउँदो दुई वर्ष भित्र स्वदेश फिर्ता पठाउने तथा उत्तर कोरियाली सामानको निर्यात पनि रोक्ने उल्लेख छ । (एजेन्सी)