
काठमाडौं, ८ पुस– बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘टाइगर जिन्दा है’ हिजो (२२ डिसेम्बर)बाट भारतीय सिनेमाघरमा प्रदर्शन भइरहेको छ । आज (२३ डिसेम्बर)देखि नेपालसहित विश्वका धेरै देशमा सलमानको ‘टाइगर जिन्दा है’ प्रदर्शनमा छ ।
खासगरी भारतको कुरा गर्दा सलमानको बहुप्रतिक्षित यो फिल्मले शुरुवात भने अपेक्षित रुपमा राम्रै गरेको छ । ‘टाइगर जिन्दा है’ हेर्न शुक्रवार विहानैदेखि सिनेमाघरमा दर्शकहरुको ठूलो भीड थियो । शुक्रवार भारतका सिङ्गल स्क्रीन र मिल्टप्लेक्स सबै फिल्म हल हाउसफूल भए ।
भारतीय सञ्चारमाध्यमका अनुसार ‘टाइगर जिन्दा है’ले रिलिजको पहिलो दिन भारतमा मात्रै ३३.७५ करोडको कलेक्सन गरेको छ । २०१७ सालमा रिलिज भएका सबै भारतीय फिल्मले पहिलो दिनमा गरेको कलेक्सनभन्दा सलमानको ‘टाइगर जिन्दा है’ ले गरेको कलेक्सन दोस्रो सबैभन्दा बढी हो ।
सलमान खानले ‘बाहुबली–२’ को रेडर्क भने तोड्न सकेन । ‘बाहुबली–२’को हिन्दी भर्सनले पहिलो दिनमा ४१ करोड कलेक्सन गरेको थियो ।
सन् २०१७ को सबैभन्दा बढी कमाइ गरेको भनिएको अर्को चलचित्र ‘गोलमान अगेन’ले पहिलो दिनमा ३०.१४ करोड कलेक्सन गरेको थियो । सलमान खानकै ‘ट्यूबलाइट’ले पहिलो दिनमा २१.१५ करोड कलेक्सन गरेको थियो भने शाहरुक खानको ‘रईस’ले २०.४२ करोड कलेक्सन गरेको थियो ।
‘टाइगर जिन्दा है’ हेरेका दर्शकले फिल्मप्रति सकरात्मक प्रतिक्रिया दिएका छन् । दर्शकहरुले सलमान खानको एक्सन अवरतारलाई सबैभन्दा बढी मन पराएका छन् ।