
काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।
विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।
गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा डा सुरेशराज शर्मा रहेकँ छन् । ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य हुन् भने शर्मा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।
समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ । यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।