
काठमाडौं, ६ माघ- नेपाल राष्ट्र बैंकले अबेदखि जुनसुकै बैंकबाट आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएर आफ्नो बैंक खातामा जम्मा हुने गरी नगद राख्न पाउने व्यवस्था गरेको हो । अन्तर बैंक भुक्तानी प्रणालीमार्फत सेवाग्राहीले अर्को बैंकमा गएर आफ्नो खातामा रकम जम्मा गर्न सक्ने भएका हुन् ।
यो व्यवस्थापछि निक्षेपकर्ताले आफूलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको खातामा गएर पनि बैंकमा खाता नभए पनि अरु बैंकमा गएर पैसा जम्मा गर्न सक्नेछन् । तर यसरी खातामा जम्मा गरिसकेको रकम झिक्न भने निक्षेपकर्ता आफ्नैं बैंकमा जानुपर्नेछ । सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने सरकारी योजनाअनुसार प्रत्येक स्थानीय तहमा जाने कुनै न कुनै बैंक शाखा हुँदा व्यवस्थाबाट विशेष गरी ग्रामीण क्षेत्रका जनता लाभाविन्त हुनेछन् ।
राष्ट्र बैंकले यसरी अर्को बैंकबाट रकम जम्मा गर्दा लिने शुल्कबारे निक्षेपकर्तालाई जानकारी गराउनुपर्ने भनेको छ ।
राष्ट्र बैंकले आइतबार जारी गरेको निर्देशन अनुसार यसरी रकम जम्मा गर्दा नगद कारोबारको सीमा विद्यमान निर्देशिका बमोजिम हुनुपर्ने, १ लाख रुपैयाँ भन्दा बढीको कारोबार सीमाको हकमा जम्मा गर्ने व्यक्तिको पहिचान खुल्नुका साथै जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ ।