
कठमाडौं, ९ माघ — युवा उपन्यासकार मालिका केशरीद्वारा लिखित उपन्यास सुवर्णलता सोमवार सार्वजनिक गरिएको छ ।
प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा उपन्यास सुवर्णलताको साहित्यकार सरुभक्त र प्राज्ञ गीता केशरीले विमोचन गर्नुभएको हो ।
उपन्यासको बारेमा बोल्दै सरुभक्तले नारीप्रधान भएर लेखिएको उपन्यासको संख्या थोरै रहेको अवस्थामा यस्ता पुस्तकले नेपाली साहित्यको भण्डार भर्ने विश्वास गर्नुभयो । उपन्यासले नेपाली नारीको वर्तमान र विगतलाई बहुतै मार्मिक तवरबाट व्याख्या गरेको उहाँले बताउनुभयो । 
पुस्तकका बारेमा बोल्दै गीता केशरीले उपन्यासमा बुद्ध र बौद्ध दर्शनलाई लेखकले कथात्मक तवरबाट देखाएको विचार राख्नुभयो । यस्ता उपन्यासले समाजलाई नयाँ र सुनौलो गन्तव्यतर्फ लैजाने विश्वास उहाँले गर्नुभयो ।
उपन्यासमा जीवनको भोगाइ, आकांक्षा र पीडा देखाइएको छ । उपन्यासमा बुद्धकालीन र वर्तमान समयमा नारीको सामाजिक र पारिवारिक अवस्थालाई तुलना गरिएको छ । साङिग्रला पुस्तक प्रालिले प्रकाशित गरेको उपन्यासका बीसवटा खण्ड छन् । २७१ पृष्ठको उपन्यासको मूल्य रु. ३७५ छ ।
उपन्यासकार केशरीको यसअघि पुनरुत्थान उपन्यास प्रकाशित छ । त्यसमा माओवादीले १० वर्ष चलाएको सशस्त्र द्वन्द्वमा राज्यपक्ष र सशस्त्र विद्रोही पक्षद्वारा उत्पीडनमा परेका नेपाली जनताको यथार्थ चित्रण गरिएको थियो ।