
काठमाडौं, १८ माघ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरेको छ ।
विशेष कारणले बैठक वालकोटमा सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए । बैठक दिउँसो ३ बजेका लागि तय भएको छ ।
पार्टी एकतामा दरार देखिएको भन्ने हल्ला चलिरहेका बेला आज बस्न लागेको बैठकले सबै शंका चिर्ने गरी निर्णय गर्ने दावी गरिएको छ । पार्टी एकता सरकार गठनअघि कि पछि भन्नेमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । एकीकृत पार्टीको नेतृत्व, कार्य्दिशालगायत विषय पनि निष्कर्षमा पुगेको छैन ।