
धनगढी, २१ माघ- नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी चुनकुमारी चौधरीको खुशीको सीमा थिएन । थारु परम्परागत पोषाकमै सजिएर प्रदेश नंं. ७ को पहिलो बैठकमा भाग लिन पुगेकी उनी निकै प्रसन्न देखिइन् ।
‘बुबाआमा १५ वर्ष जति कमैया जीवन बिताउनुभयो । जहाँ–जहाँ कमैया बस्न जानुहुन्थ्यो, सँगै म पनि पुग्थेँ । विवाह नहुन्जेलसम्म अभिभावकहरुसँगै जमिनदारको घरमै बिताएँ’, उनले भनिन्, ‘आज यो स्थानमा पुग्दा मलाई जीवनकै ऐतिहासिक दिन लागेको छ ।’
शिक्षाको ज्योतिबाट वञ्चित भएकी उनी शैक्षिक, आर्थिक र राजनीतिकरूपमा पछाडि परेको समाजलाई परिवर्तन गर्न आफू प्रतिवद्ध भएर लाग्ने बताउँछिन् ।
त्यस्तै नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी उमादेवी बादी पनि निकै हार्षित थिइन् । आफू निकै नै उपेक्षित, पछाडि परेको समुदायकै पहिलो सांसद रहेको बताउँदै उनले आजको दिन जीवनकै गौरवपूर्ण दिन भएको बताइन् ।
‘समाजबाट अपहेलित वादी समुदायको अझै पनि जीवनस्तरमा सुधार हुन सकेको छैन । अझै पनि कहिकतै अझै पनि लुकीछुपी यौन पेशा गर्नुपर्ने बाध्यता छ । तर अझै पनि राज्यले गम्भीरतापूर्वक बादी समुदायको समस्यालाई लिएको पाइन्न’, उनले भनिन्, ‘समाजमा सम्मानजनक जीवनयापनका लागि राज्यको ध्यान जान जरुरी छ । हिजोका दिनमा सडकबाट आवाज उठाएँ । अब समाजको लागि सदनबाट आवाज उठाउँछु ।’
विभिन्न उत्पीडित वर्ग समुदायबाट आएका सांसद हुन्, या भौगोलिकरूपमा निकै विकट दूरदराजबाट आएका सांसद । सबैको मुहार खुशीले धप्पक्क बलेको थियो । उनीहरुले आफ्नो पहिलो प्राथमिकता नै आफू आएको समुदाय तथा क्षेत्रको विकास बनेको छ ।
दार्चुला जिल्लाका सांसद मानबहादुर धामीले दार्चुलाजस्तो दूरदराजका आमजनतालाई सरकारको अनुभूति गराउने खालको काम गर्ने प्रतिवद्धता जनाए । भौगोलिक रुपमा विकट क्षेत्रको विकासमा चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै उनले अबको समय त्यसैमा खर्च गर्ने बताए । त्यस्तै उनले प्रदेश राजधानीबारे सुक्ष्मरूपमा अध्ययन गरेर सबैको पायक पर्ने स्थानमा राख्नुपर्ने विचार व्यक्त गरे ।
सांसद धामीको जस्तै भनाई थियो, बाजुराका सांसद प्रकाश शाहको । उनले भौगोलिकरूपमा विकट क्षेत्रको विकासको लागि साझा मुद्दा बनाएर काम गर्नुपर्ने बताए ।