२६ जेठ २०८३, मंगलबार

भीमदत्त नगरपालिकाले लागू गर्यो आफैंले बनाएका कानून

फागुन १२, २०७४
भीमदत्त नगरपालिकाले लागू गर्यो आफैंले बनाएका कानून

महेन्द्रनगर, १२ फागुन–  कञ्चनपुरकाे भीमदत्त नगरपालिकाले निर्माणा गरेका कानून राजपत्रमा प्रकाशित गरी कार्यान्वयन सुरु गरेको छ । भीमदत्त नगरपालिकाको नगर सभा र नगर कार्यपालिकाबाट पारित कानून स्थानीय राजपत्रमा प्रकाशित गरेकाे हाे ।

ती कानूनमा विनियोजन ऐन सहित नियमावली, निर्देशिका र कार्यविधि छन् । नगरसभा र नगर कार्यपालिकाबाट पारित कानून नगर प्रमुख सुरेन्द्र विष्टले प्रमाणिकरण गरेपछि राजपत्रमा प्रकाशित गरिएका छन् । भीमदत्त नगरपालिका कार्यालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार शुक्रबार एक दर्जन कानून स्थानीय राजपत्रमा प्रकाशित गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उप दफा २ मा स्थानीय सरकारलाई कानून बनाउने अधिकार र सोही दफाको उप दफा ३ मा राजपत्रमा प्रकाशित गर्नु पर्ने प्रावधान छ । भीमदत्तका मेयर सुरेन्द्र विष्टले स्थानीय सरकारको क्षेत्राधिकारभित्र रहेर नगर सभा र नगर कार्यपालिकाबाट पारित ऐन, नियमावली, निर्देशिका र कार्य विधि राजपत्रमा प्रकाशन गरिएको बताए । ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार निर्माण गरिएका कानुन राजपत्रमा प्रकाशित गरी कार्यान्वयनको चरणमा प्रवेश गरेका छौ’ नगर प्रमुख विष्टले भने ।

छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका, विनियोजन ऐन, नगर कार्यपालिका बैठक सञ्चालन सम्बन्धी कार्य विधि, नगर कार्यपालिका कार्य सम्पादन नियमावली, नगर कार्यपालिका कार्य विभाजन नियमावली, उपभोक्ता समितिको गठन, सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यविधि, टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि, अल्पकालिन नगर सेवा केन्द्र सञ्चालन कार्यविधि मदिरा बिक्री, वितरण व्यवस्थापन तथा नियमन कार्यविधि, घ वर्गको निर्माण व्यवसायको नयाँ इजाजत पत्र जारी, नविकरण, नामसारी खारेज गर्ने सम्बन्धी कार्य विधि, ज्येष्ठ नागरिक परिचय पत्र वितरण कार्यविधि र आधारभूत तहको परीक्षा सञ्चालन सम्बन्धी कार्यविधि राजपत्रमा प्रकाशित गरिएको छ ।

भीमदत्त नगर कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत हरि सिह धामीले स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर सभा र कार्यपालिकाबाट पारित कानुन कार्यान्वयनका लागि राजपत्रमा प्रकाशित गर्नु पर्ने व्यवस्था प्रकाशित गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्