पुटिन र मेद्भेदेभको नेपाली संस्करण ओली र प्रचण्ड बन्न सक्लान् ?

रुसको संविधानले ’लगातार’ दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन निषेध गरेको व्यवस्थाका कारण २००८ मा आफ्ना उप–प्रधानमन्त्री दिमेत्री मेद्भेदेभलाई पुटिनले राष्ट्रपतिमा निर्वाचित हुन सहयोग गरे, तर राष्ट्रपतिका थुप्रै अधिकार प्रधानमन्त्रीमा सारी उनी स्वयं तिनको प्रधानमन्त्रीमा मनोनित भए । र, मेद्भेदेभको कार्यकाल सकिनेबित्तिकै २०१२ मा राष्ट्रपतिका सबै अधिकार राष्ट्रपतिमा नै फर्काएर उनी फेरि शक्तिशाली निर्वाचित राष्ट्रपतिको कुर्सीमा बस्न पुगे । 

मेद्भेदेभचाहिँ प्रधानमन्त्रीमा नियुक्त गरिए । यसरी विश्व राजनीतिको अनौठो परिघटनाको रुपमा अंकित ’पालैपालो शासन गर्ने’ यो सूत्र मार्फत सबै दृष्टिकोणबाट कमजोर भएको रुसलाई हरेक दृष्टिकोणबाट सबल बनाइ पुनः ’नयाँ महाशक्ति’को पुनरोदय गराउन सफल भए पुटिन । 


Advertisement

नेपाल गणतन्त्रमा प्रवेश गरेको समयमा त्यस बेलाका शक्तिशाली नेताद्वय पुष्पकमल दाहाल‘प्रचण्ड’ र गिरिजाप्रसाद कोइरालाबीच पुटिन र मेद्भेदेभ जस्तै आपसी समझदारी कायम भैदिएको भए नेपालको राजनीति यसरी दुर्घन्धित र अस्थिर नभएर देश धेरै अगाडि बढिसकेको हुन्थ्यो । 

अहिलेका शक्तिशाली नेताद्वय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचन्डले जीवनको उत्तरार्धमा रुसका नेता पुटिन र मेद्भेदेभबीचको जस्तै सम्मानजनक आपसी समझदारी कायम गर्दै छन् । 

यसलाई अन्तिम घडीसम्म निरन्तरता दिनुको स्पस्ट अर्थ देशलाई गतिहीनताबाट गतिशिलतातिर, अस्थिरताबाट स्थिरतातिर, गरिबीबाट सम्पन्नतातिर लगी आ–आफ्ना राजनीतिक जीवनमा देखिएका गल्ती कम्जोरीहरुलाई बिर्साएर यो इतिहासमा ‘प्रचण्डोली युग’ कायम गर्ने माध्यम पनि बन्न सक्छ ।  

आन्तरिक द्वन्द्वले जर्जर एवं अन्तर्राष्ट्रिय जगतको ऋण र दयाको पात्र झैं बनेको मुलुकलाई हाँक्न सक्ने सक्षम व्यक्तिको खोजीका कारण घरीघरी प्रधानमन्त्री फेरिरहने येल्तसिनले सन् १९९९ मा चेचेन आतंकको चरम अवस्थामा राष्ट्रिय सुरक्षा परिषदमा आफ्नो दृढ स्वभावलाई प्रदर्शन गरिसकेका पुटिनलाई अन्तिम प्रधानमन्त्री नियुक्त गर्दै आफ्ना सबै असफलताका लागि रुसी जनतासँग क्षमा मागेर उनले आफ्नो पदबाट राजीनामा दिएका कारण संविधानतः कार्यवाहक राष्ट्रपति समेत बनेका पुटिन सन् २००० मा रुसमा दोस्रो पटक निर्वाचित राष्ट्रपति बने । 

७० प्रतिशतभन्दा बढी मतका साथ सन् २००४ मा पुनः राष्ट्रपति पदमा निर्वाचित उनले रुसको संघीय ढाँचा पूरै बदलिदिए । 

पुटिनले आफ्ना शुरुवाती आठवर्षे कार्यकालमा जीडीपी, औद्योगिक विकास र आर्थिक लगानीजस्ता अर्थतन्त्रका प्रायः सबै सूचकांकहरू अत्यन्त प्रभावशाली ढंगले वृद्धि गरे । गरिबीको रेखामुनि रहेको जनसंख्या आधा घट्यो भने औसत तलबमा पाँच गुणा वृद्धि भयो । 

स्थायित्व र राष्ट्रिय गौरवको नयाँ चेतना रुसमा विकास भयो । सरकारले ’स्थिरीकरण कोष’ (स्टेविलाइजेसन फन्ड) को माध्यमबाट दुई वर्षभित्रै त्यसमा जम्मा भएको पैसाले अन्तर्राष्ट्रिय मुद्रा कोष र पेरिस क्लबजस्ता संस्थाको सोभियतकाल देखिकै सबै ऋण समयभन्दा धेरै अगाडि चुक्ता गरेर रुसले राष्ट्रिय स्वाभिमान पुनस्र्थापना गर्यो । हालै उनी ७५ प्रतिशत भन्दा बढी मतका साथ विजयी हुँदै चौथो कार्यकालका लागि विजयी भएका छन् । 

यो अवसरलाई दुबै नेताले राम्रो सुझबुझका साथ निस्वार्थ तवरले देशको हितलाई ध्यानमा राखी राम्रो समझदारी कायम गरेर अगाडि बढी सम्मुन्नत नेपाल बनाउन सक्षम भए भने ओली र प्रचण्ड इतिहासमा ‘राजनीतिक हिरा’को रुपमा स्थापित हुने कुरामा सन्देह छैन

चिनियाँ राष्ट्रपतिको पाँच वर्षे दुई कार्यकाल रहन पाउने संवैधानिक व्यवस्थालाई हालैको नेशनल पिपुल्स कंग्रेसको बैठकले अन्त्य गरी वर्तमान राष्ट्रपति सि जिनपिङलाई माओपछिको सबैभन्दा शक्तिशाली नेताको रुपमा स्वीकारेको छ । यस्का लागि भएको मतदानमा २,९६४ मतमा २ मत मात्रै यो निर्णयको विपक्षमा परेको थियो । 

वर्तमान आधुनिक विश्वमा भैरहेका नेतृत्वदायी ब्यक्तिका कारण दुई देशहरुले छोटो समयमा नै गरेको आश्चर्यजनक प्रगतिका कारण ती देशका जनताद्धारा उनीहरु कसरी रुचाइएका छन् भन्ने कुरा उपर्युक्त पछिल्ला दुई परिच्छेदले प्रस्ट्याउँछ । 

प्रजातन्त्रको नाममा सि जिनपिङ र पुटिनको यी कदमको बिरोध अन्तराष्ट्रिय राजनीतिका कारण बाहिरबाट गरिएलान्, तर देशका लागि उनीहरुले पुर्याएका र विश्वले नै देखेका अतुलनीय उल्लेख्य योगदानका कारण भित्रको उल्लेख्य जन समर्थनले बाहिरी बिरोध निरर्थक साबित गरिदिनेछ । नेपालले वर्तमान अवस्थामा  यसलाई ठूलो शिक्षाको रुपमा लिनै पर्ने हुन्छ । 

माओवादीको धेरै जसो एजेण्डाअनुरुप देश अगाडि बढेको छ । तर जनमत भने एमालेको पक्षमा देखिएको छ । जसका कारण वाम एकतामालाई सुन्तुलित ढंगले बढाउन समय लाग्नु स्वभाविक नै हो । 

एउटा पार्टी अर्कोमा बिलायो भन्नुको अर्थ एकपक्षीय स्वार्थ देखिने भएकोले उपर्युक्त अत्यन्तै महत्वपूर्ण दुई यथार्थताका आधारमा आफूलाई एमाले र माओवादी भएको बिर्सेंर सम्मानजनक वाम एकता गर्नु आवश्यक छ । यसो भयो भने मात्र दुई पार्टीका नेता कार्यकर्ताले आफूलाई वामपन्थीको रुपमा मात्रै अगाडि  बढ्न सक्छन् । 

यसो हुँदा एकताको ऐतिहासिक दिनलाई आगामी ५ बर्षमा ऐतिहासिक महत्वको युग वा कालमा रुपान्तरण गर्न  राननीतिक नेतृत्व सक्षम हुनेछन् । 

यहाँ बिर्सनै नहुने एउटा महत्वपूर्ण वास्तबिकता के पनि हो भने दुई फरक सिद्धान्तलाई अंगीकार गरेका दुई जर्मनी एकीकरण भएको झन्डै तीन दशक हुँदा समेत कुनै समस्या देखा परेको छैन । 

शब्द शब्दका कारण नयाँ पार्टी जन्माउन माहिर भएका कारण हाम्रो देशमा अनाबस्यक किसिमले धरै पार्टी बनाएर देशलाई अस्थिर बनाउन जिम्मेवार नेताहरुले जर्मनको यो यथार्थताबाट पाठ सिक्नै पर्छ । 

यो ऐतिहासिक राजनीतिक परिघटनाले प्रजातान्त्रिक शक्तिहरुका बीचको ध्रुबिकरणलाई तिब्रता दिनेछ र दिनु पर्छ पनि । राजनीतिक सन्तुलन र देश बिकासका दृष्टिकोणले यो अत्यन्तै महत्वपूर्ण पाटो हो । 

देश विकासका दृष्टिकोणले अनावस्यक धेरै पार्टी हुनुहुन्न भन्ने आधारमा थ्रेसहोल्ड कायम गरेर राजनीतिक ध्रुबीकरण मार्फत देशमा बढीमा ४–५ पार्टी कायम गरिनुपर्छ भन्दै केही समयअघि देखिनै माग भएको थियो जसलाई पछिल्लो निर्वाचनले अवलम्बन गरेको छ र पाँच पार्टीले मात्र थ्रेसहोल्ड कटाएका छन् । 
 
प्रधानमन्त्री ओली इतिहासमा नै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्न पुगेका छन् । 

संविधान अनुसार प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विस्वासको मत लिनुपर्ने व्यवस्था अनुरुप वाम गठबन्धनका आधारमा करीब दुई तिहाइ मत प्राप्त गरे तापनि विस्वासको मत लिने क्रममा तीन चौथाईभन्दा बढी (७७.६१२५) मत प्राप्त गरेका छन् । 

ओली पञ्चायत कालका सुर्यबहादुर थापा र बहुदलीय प्रजातन्त्रका गिरिजा बाबुभन्दा बढी शक्तिशाली प्रधानमन्त्री मात्रै बनेका छैनन्  परिवर्तित राजनीतिक परिदृस्यका कारण अत्यन्तै सुरक्षित प्रधानमन्त्रीसमेत बनेका छन् । 
यो ओलीको लागि अत्यन्तै ठूलो अवसर र शक्ति पनि हो । 

राजनीतिक जीवनको उत्तरार्धमा प्राप्त यो अत्यन्तै ठूलो अवसरको सफलता प्रचन्डले भने जस्तो ‘एक्सन’र गगन थापाले सम्झाएको घोषणापत्रका कुराहरु कार्यान्वयन भएको खण्डमा मात्र उनी ऐतिहासिक प्रधानमन्त्री बन्नेछन् । 

देश ऐतिहासिक मोडमा रहेको बेला देखा परेको वाम एकतालाई आगामी ५ वर्षभित्र ऐतिहासिक महत्वको युग वा कालमा रुपान्तरण र प्रमाणित गर्न “प्रचण्डोली“ आफ्ना जीवनको पछिल्लो उत्तरार्धमा सफल हुनुको स्पष्ट अर्थ समग्र रुपमा उनीहरु सफल र ऐतिहासिक नेताको रुपमा प्रमाणित हुनु हो यसका लागि दुवै जनाले छाति चौडा बनाउन आवश्यक छ । 

“प्रचन्डोली युग“ को रुपरेखाको प्रकृतिका लागि ५ बर्ष निर्णायक समयाबधि हुन सक्छ ।        

देशमा स्थिरता कायम गर्दै देशलाई अगाडि बढाउन सक्षम भएको खण्डमा उनीहरुबाट बिगतमा भए गरेका गल्तीहरुलाई नेपाली जनताले क्षमा गर्नेछन् र बिस्तारै बिर्सनेछन् ।

वाम गठबन्धनले राजनीतिक स्थायित्व र आर्थिक विकासका नारा लिएर चुनावको नतिजा आफ्नो पक्षमा पारेकोले चुनावी नारा कार्यान्वयन गर्नु सरकारको मुख्य चुनौती हो । त्यसमै पार्टीको भविष्य निर्धारण हुनेछ । 
संख्यात्मक हिसाबले र पार्टीका हस्तीहरु चुनाबमा पराजित भएका कारण पनि अहिले कमजोर देखिएको कांग्रेस लामो समयसम्म सत्तामा रहेको पुरानो खेलाडी भएकोले सशक्त प्रतिपक्ष बन्न नसके पनि कुन स्थानमा अप्ठ्यारो बनाउन सकिन्छ भन्ने विषयमा कमजोर नहुन सक्छ । 

आफ्नो राजनीतिक जीवनको उत्कर्षमा जसरी ओली र दाहालले आ–आफ्नो नेतृत्व र भूमिका स्थापित गर्ने सूत्र फेला पारी एमाले र माओवादी एकता सहज र सम्भव तुल्याए । 

पुटिन र मेदभेदेबको जस्तै आपसी समझदारी कायम गरेर यस्लाई निरन्तरता दिन सके भने त्यो उनीहरु, पार्टी र देशकै लागि फलदायी हुनेछ । 

देशमा स्थिरता कायम गर्दै देशलाई अगाडि बढाउन सक्षम भएको खण्डमा उनीहरुबाट बिगतमा भए गरेका गल्तीहरुलाई नेपाली जनताले क्षमा गर्नेछन् र बिस्तारै बिर्सनेछन् ।

बहुसंख्यक नेपाली कहिले पञ्च त कहिले कांग्रेस, अनि कहिले एमाले त कहिले माओवादी र अझ एक समय त झन्डै पुरै राजाबादी बन्नुको स्पस्ट कारण जनताद्धारा कुनै निस्चित बिकल्पका कारण देश अगाडि बढिहाल्छ कि भनी अनुसन्धान र परीक्षण गर्नु हो ।

जब स्थिरता कायम गर्दै देशलाई अगाडि बढाउँछ भने चेत बाबा काशी भैसकेका जनता यता र उता लखर लखर किन भौतारिन्छन र ?  यसका लागि जीवनको अन्तिम उकालो लागिरहेको समयमा प्राप्त यो अवसरलाई दुबै नेताले राम्रो सुझबुझका साथ निस्वार्थ तवरले देशको हितलाई ध्यानमा राखी राम्रो समझदारी कायम गरेर अगाडि बढी सम्मुन्नत नेपाल बनाउन सक्षम भए भने ओली र प्रचण्ड इतिहासमा ‘राजनीतिक हिरा’को रुपमा स्थापित हुने कुरामा सन्देह छैन ।
 

कमेन्ट गर्नुहोस्