२६ जेठ २०८३, मंगलबार

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका लागि ४० लाख बजेट

चैत २४, २०७४
कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका लागि ४० लाख बजेट

सुर्खेत, २४ चैत– कर्णाली प्रदेश सरकारले आगामी वैशाख १ गते उद्घाटन हुने कर्णाली–रारा पर्यटन बर्षको उद्घाटनका लागि ४० लाख बजेटको सिलिङ तोकेको छ । वीरेन्द्रनगरमा शनिवार कार्यवाहक मुख्यमन्त्री प्रकाश जवालाको अध्यक्षतामा बसेको मुल समारोह समितिको वैठकले उक्त निर्णय गरेका हुन् ।  सरकारका प्रवक्ता एवम् कृषि, भूमि तथा सहकारी मन्त्री विमला केसीले ४० लाखकाे बजेट सिलिङ ताेकिएकाे जानकारी दिइन् ।

‘वैठकले ४० लाख बजेटको सिलिङ तोकेको छ ।’ उनले भनिन्, ‘यो बजेट अतिथि सत्कार, यातायात, गास, बास, मञ्च निर्माण, प्रचार प्रसार, प्रवेशद्धार निर्माण जस्ता कार्यमा खर्च गरिनेछ ।’ रारामा पर्यटन मन्त्री नन्दसिंह बुढा भोली (चैत २५) गते थप तयारीका लागि जान लाग्नुभएको उनको भनाइ थियो ।

रारा जानकालागि धेरै पर्यटकहरु आकर्षित भएको बताउँदै मन्त्री केसीले सुर्खेतबाट रारा जान गाडीको व्यवस्थापन गरिने जानकारी दिईन । ‘सुर्खेतबाट रारा जानको लागि हामीले सबैभन्दा पहिले सरकारी गाडीको प्रयोग गर्नेछौं,’ मन्त्री केसीले भनिन्, ‘त्यतिले नपुगे मात्रै अन्य गाडीको व्यवस्था गर्ने योजनामा हामी छौं ।’

उक्त, बजेटको व्यवस्थापन मुख्यमन्त्री कार्यालयले गर्ने भएको छ भने खर्च भए/नभएको अनुगमन गर्ने जिम्मा आर्थिक मन्त्रालयका सचिव ढुण्डिराज निरौलाको नेतृत्वमा गठित अनुगमन समितिले गर्ने भएको बताइएको छ ।
यस्तै, वैठकले वेशाख ८ गतेभित्र खर्च भएको सबै रकम सार्वजनिक सुनुवाई मार्फत सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्