
काठमाडौं, २६ वैशाख – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट हात झिकेपछि संसारभर त्यसप्रति तीखो प्रतिक्रिया आएको छ ।
ट्रम्पले मंगलवार ह्वाइट हाउसमा सन् २०१५ मा भएको उक्त सम्झौता वाहियात भएको भन्दै त्यसले मध्यपूर्वमा इरानको खतरनाक गतिविधिलाई सीमामा बाँध्न नसकेको आरोप लगाएका थिए ।
ट्रम्पको उक्त निर्णयले इरानमा आक्रोश फैलिएको छ । राजनीतिकर्मीहरूले अमेरिकी झण्डामा आगो लगाएका छन् । उनीहरूले ‘अमेरिका मुर्दाबाद’ को नारा लगाए अनि ट्रम्पको ‘दिमाग रित्तिएको’ आरोप लगाए ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले ट्रम्प मरेको दिन ‘सर्प र कमिलाहरूले उनको लाश खाइदिन्छन्’ भनी कडा टिप्पणी गरे ।
बेलायत, फ्रान्स, जर्मनी र रुसले ट्रम्पको निर्णयप्रति खेद प्रकट गरेका छन् भने बाँकी विश्व चाहिँ यसले विश्वव्यापी सुरक्षामा कस्तो खलल पु–याउने हो भनी त्राहित्राहि गरिरहेको छ ।
द डेली मेलबाट